झापाको पहिलो पाइलासहित ७० सहकारीलाई कर्जा चुक्ता गर्न ३५ दिने अल्टिमेटम

बिर्तामोड । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले ७० वटा सहकारी संघसंस्थालाई कर्जा चुक्ता गर्न ३५ दिने अल्टिमेटम दिएको छ । आज सूचना प्रकाशित गर्दै कोषले झापाको भद्रपुरस्थित प्रधान कार्यालय रहेको पहिलो पाईला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडसहित ७० वटा सहकारीलाई कर्जा चुक्ता गर्न अल्टिमेटम दिएको हो ।
कोषले ती सहकारी संघसंस्थालाई ३५ दिनभित्र साँवा, ब्याज र हर्जनासहितको सम्पूर्ण रकम भुक्तानी गर्न भनेको हो । अन्यथा संस्थाका सञ्चालक समिति, लेखा समिति एंव कर्जा उपसमितिको तीनपुस्ते विवरणसहित रकम असुलीको लागि कालोसूचीमा राखी राष्ट्रिय दैनिक पत्रिका तथा सम्बन्धित निकायमा सूचना प्रकाशित गर्ने कोषको चेतावनी छ ।
कोषका अनुसार धनकुटाको साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, झापाको पहिलो पाईला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, पाँचथरको मिलनशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुनसरीको सामूहिक कृषि सहकारी संस्था लिमिटेडलगायतले कोषबाट लिएको कर्जा चुक्ता गरेका छैनन् ।
त्यसैले, यी सहकारी संघसंस्थालाई आगामी ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गर्दै कोषले अटेरी गरे आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउने जनाएको छ ।
‘युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग थोक कर्जा सम्झौता गरी लिएको ऋण आजको मितिसम्म पनि चुक्ता नभएकाले आजको मितिले ३५ दिनभित्र कोषलाई बुझाउनुपर्ने साँवा, ब्याज र हर्जनासहितको सम्पूर्ण रकम बुझाउनका लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनमा भनिएको छ,‘तोकिएको समयमा रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, लेखा समिति एंव कर्जा उपसमितिको तीन पुस्ते विवरणसहित रकम असुलीको लागि कालो सूचीमा राखी राष्ट्रिय दैनिक पत्रिका एंव सम्बन्धित निकायमा सूचना प्रकाशित गरिनेछ ।’