एकै रात ४ वटा पसल फोड्ने ५६ बर्षीय खवास पक्राउ

बिर्तामोड । झापाको शिवगञ्ज बजारमा श्रृङ्खलाबद्ध चोरी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले शिवसताक्षी ५ आमबाडी बस्ने ५६ बर्षीय सविलाल खवासलाई सटर फुटाएर चोरी गरेको आरोपमा पक्राउ गरेको हो ।
जेठ ३ गते राति शिवगञ्ज बजारको चार वटा सटर फोरेर सामान चोरी भएको उजुरी पाएको प्रहरीले असार ९ गते खवासलाई पक्राउ गरेको हो ।
शिवगञ्ज बजारमा देविप्रसाद खरेलले सञ्चालन गरेको पवित्रा किराना पसलबाट ८९ हजार २५० रुपैँया, काशी शाहले सञ्चालन गरेको जय सन्तोषी स्टोरबाट ३३ हजार ४२५, रामकुमारी शाहले सञ्चालन गरेको सृष्टि किराना पसलबाट २५ हजार रुपैँया र उघनलाल राजवंशीले सञ्चालन गरेको मुस्कान होटलबाट २५ हजार रुपैँया बराबरको नगद तथा सामान चोरी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार पक्राउ परेका खवासको साथबाट ९ हजार ९८५ नेपाली र एक हजार ४५० भारतीय नोट, खानेतेल २३ लिटर, खुकुरी चुरोट ४ बण्डल १२ प्याकेट, लुगाधुने पुजा साबुन १५ थान, धोबी साबुन २१ थान लगायतका सामाग्री बरामद भएको छ । उनले चोरी गर्दा प्रयोग गरेको फलामको रड, झोला र कपडासमेत बरामद भएको रिजालले जानकारी दिए ।
पक्राउ परेका खवासलाई जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।