२०८३ बैशाख १९ गते , शनिबार

नक्कली शरणार्थी प्रकरण : ३३ जना विरुद्ध साढे २७ करोड विगो कायम हुने प्रहरी निष्कर्ष

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ ८ गते , सोमबार
नक्कली शरणार्थी प्रकरण : ३३ जना विरुद्ध साढे २७ करोड विगो कायम हुने प्रहरी निष्कर्ष

काठमाण्डौ । नक्कली शरणार्थी प्रकरणमा जोडिएका ३३ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय दिएको नेपाल प्रहरीले यो मुद्दामा साढे २७ करोड बराबरको बिगो कायम हुने निष्कर्ष निकालेको छ । १ सय १३ जनाले दिएको २३ वटा जाहेरीको आधारमा यो रकम बराबरको बिगो कायम हुने प्रहरीको अनुसन्धान प्रतिवेदनमा छ ।

यो अनुसन्धानका क्रममा तत्कालका लागि साढे २७ करोड बराबरको लेनदेनको हिसाबकिताब देखिएको हो । यो प्रकरणमा जोडिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित ३३ जनालाई राज्यविरुद्धको, ठगी र संगठित अपराध गरी तीन खालका मुद्दा चलाउनुपर्ने राय प्रहरीको छ ।

प्रहरीले सोमबार सरकारी वकिलको कार्यलायलाई प्रतिवेदन बुझाएको हो । ३३ मध्ये १६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने बाँकी १७ जना अहिले फरार छन् ।

यसअघि सार्वजनिक पद धारण गरेकाहरुलाई भ्रष्टाचारको विषयमा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउने राय पनि प्रहरीले दिएको छ । त्यस्तै, सार्वजनिक पद धारण गरेका बाहेकको हकमा भने अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई लेखी पठाउने राय पनि प्रहरीले दिएको छ ।

चैत १२ गतेबाट प्रहरील थालेको अनुसन्धान सोमबार पूरा गरी प्रतिवेदन बुझाएको हो । प्रहरीको प्रतिवेदन अध्ययन गरेर अब सरकारी वकिलको कार्यालयले उनीहरुविरुद्ध अदालतमा मुद्दा दायर गर्नेछ । उनीहरुविरुद्ध किर्ते गरेको विषयमा भने मुद्दा चलाउनेबारे प्रतिवदेनमा उल्लेख छैन ।

सम्बन्धित समाचार