तातोपानी नाकाबाट भित्रियो ७ हजार टन रासायनिक मल
काठमाण्डौ । नेपालको उत्तरी सीमा नाका तातोपानीबाट पुनः रासायनिक मल भित्रिन थालेको छ । साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले चीनबाट एक सातामा साढे ७ हजार टन रासायनिक मल ल्याएको छ । सिल्क ट्रान्सपोर्ट कम्पनीका प्रमुख सञ्चालन अधिकारी दामोदर सत्यालले ७ हजार १ सय टन रासायनिक मल ल्याउने तयारी रहेको र गत साता ३ हजार ५ सय टन कृषि सामग्री र ४ हजार टन साल्ट ट्रेडिङलाई तातोपानी नाकाबाट रासायनिक मल ल्याएर बुझाइसकिएको बताए ।
केही समय अघि नै आउनुपर्ने मल कोभिडको कारणले रोकिएकाले अहिले आयात गरिएको उनले बताए । तातोपानी भन्सारको मल राख्ने क्षमता सात हजार १ सय टन रहेकाले अहिलेको लागि त्यति बराबरको मल ल्याउने तयारी रहेको उनको भनाइ छ । ७ हजार टन मल चीनको सिगात्सेमा ल्याएर राखिएको उनको भनाइ छ । तातोपानी नाकाबाट पछिल्लो पाँच दिनमा दैनिक ९ वटासम्म मलका कन्टनर ल्याइएको उनले बताए । तातोपानी नाका नेपालको चीनसँगको नजिकको नाका भएपनि नेपालतर्फको सडक मार्गमा समस्या रहेकाले प्रभावकारी सञ्चालन हुन सकेको छैन ।
सडक राम्रो भएको खण्डमा नेपालमा आवश्यक पर्ने ५० प्रतिशत मल चीनबाट ल्याउन सकिने सत्यालले बताए । सिल्क ट्रान्सपोर्ट कम्पनीले सरकारलाई समयमा नै मल ल्याएर दिनेगरी आयात गरिरहेको उनको भनाइ छ । ‘भन्सारमा आएको मलको परीक्षण र अरु प्रक्रिया तत्काल गरिदिए एक हप्तामा नै कृषि सामग्री कम्पनीलाई मल बुझाउन सकिन्छ’ उनले भने ।
रासायनिक मल चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट तातापानी नाकासम्म कन्टेनरमार्फत ल्याइएको सिल्क कम्पनीले जानकारी दिएको छ । तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत उदेयसिंह बिष्टले खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक तथा अन्य सामग्री आयात हुने गरेकामा पछिल्लो साता रासायनिक मल आयात भएको बताए । उनले चीनबाट तातोपानी नाका हुँदै आयात एकदमै कम रहेको बताए । तातोपानी नाकाबाट चालु आर्थिक वर्षमा ४ अर्ब ६२ करोड राजश्व संकलन गर्ने लक्ष्य भएपनि अहिलेसम्म २ अर्ब ५४ करोड अर्थात ४५ प्रतिशत मात्रै राजश्व संकलन भएको छ । तातोपानी नाकामा भइरहेको आयातको अवस्थालाई हेर्दा यो आर्थिक वर्ष लक्ष्यको कम्तिमा ६२ प्रतिशतसम्म राजश्व संकलन हुने अवस्था देखिएको उनले बताए ।
तातोपानी भन्सार व्यवस्थापनको जिम्मवारी पाएको ट्रान्सिल टर्मिनल्सका प्रवन्धक अनिरुद्र थापाले पछिल्लो एक सातादेखि दैनिक ८ कन्टेनर रासायनिक मल आयात भइरहेको बताए । प्रवन्धक थापाले भन्सारमा रासायनिक मल ७ हजार १ सय टन मल राख्नसक्ने क्षमता रहेकाले त्यही अनुसार आयातकर्ता कम्पनीलाई आग्रह गरिको बताए ।