बिर्तामोड खानेपानी : कांग्रेसमा किचलो, गठबन्धनलाई बागी उम्मेदवारको भर
बिर्तामोड । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन नजिकिएसँगै दलहरु चुनावी तयारीमा जुटेका छन् । जेठ १५ गतेलाई तोकिएको चुनावका लागि दुईवटा प्यानल चुनावी मैदानमा जाने देखिएको छ ।
नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले एउटा प्यानल तयार गरिरहेको छ भने नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अर्को प्यानल तयार गरेको छ । खानेपानीमा लामो समयदेखि नेतृत्व जित्दै आएको नेपाली कांग्रेसले राप्रपालाई दुई सिट दिने गरि सहमति गरेको छ । नौ जना सदस्य रहेको समितिमा कोषाध्यक्ष र एक जना सदस्य राप्रपालाई दिने र बाँकी आफुले लिने गरी काँग्रेसले तयारी गरे पनि आफ्नै दलभित्रको विवाद भने मिलाउन सकेको छैन ।
शुक्रबारसम्ममा सबै व्यवस्थापन मिलाएर बेलुका ४ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेको भएपनि कांग्रेस भित्रको किचलो मिलाउन नसक्दा सो सम्मेलन नै आइतबार विहानका लागि सारिएको छ । नेपाली काँग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईले केहि प्राविधिक काम बाँकी रहेको भन्दै पत्रकार सम्मेलन आइतबार विहान हुने जानकारी दिए ।
काँग्रेसका तर्फबाट वर्तमान सचिव मेघराज बास्तोलालाई अध्यक्ष बनाउने तयारी गरिएको भएपनि आकांक्षीको संख्या धेर हुँदा अन्य पदमा भागवण्डा मिलाउन गाह्रो भएको एक नेताले बताए ।
यता नेकपा एमाले, माओवादी केन्द्र र जसपाले उम्मेदवार करिब टु्ङ्गो लगाएको छ । नेपाली कांग्रेसको बागी उम्मेदवारको रुपमा रहेका देवेन्द्र सिटौलालाई प्रगतिशिल प्यानलले सहयोग गरेर जान लागेको हो । प्रगतिशिल प्यानलमा अध्यक्ष पदका लागि उम्मेदवार नभएपछि सिटौलालाई स्वीकार्नु बाध्यता रहेको नेताहरु बताउँछन् । अध्यक्ष पदका लागि कम्तिमा एक कार्यकाल समितिमा रहेर काम गर्नु पर्ने विधानमा उल्लेख छ । एमालेकी नेतृ पूर्व सांसद पवित्रा निरौला खरेल अध्यक्ष पदका लागि योग्य उम्मेदार हुनसक्ने भएपनि यति बेला उनी विदेशमा रहेकाले सो प्यानललाई उम्मेदवार पाउन मुस्किल भएको हो ।
प्रगतिशिल प्यानलको यस्तो छ भागबण्डा
उक्त प्यानलले अध्यक्षमा सिटौला, एमालेको तर्फबाट उपाध्यक्ष औषधी व्यवसायी प्रदिप खरेल, सदस्यहरु छत्रबहादुर श्रेष्ठ, रमेश उप्रेती, तारा राई र सिमा सिलवाललाई टुङ्गो लगाएको छ । माओवादी केन्द्रका तर्फबाट सचिव पदका लागि विष्णुप्रसाद चुडाल र सदस्य पुनम अधिकारी लिम्बु रहेका छन् भने जसपाको तर्फबाट कोषाध्यक्ष विनिता राजवंशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा एकिकृत समाजवादीले उम्मेदवार नदिएपनि प्रगतिशिल प्यानललाई सघाउने बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले अध्यक्ष बाहेकका पदमा आफ्नै उम्मेदवार उठाएर जाने हल्ला चलेपनि अहिलेसम्म टुङ्गो लागेको छैन । अन्य दलले सामान्य एलायन्सका लागि कुरा गरेको भएपनि आफ्नै प्यानल बनाएर जाने तयारी रहेको र साँझसम्म टुङ्गो लाग्ने रास्वपाका नगर सभापति शम्भु भण्डारीले बताए ।
जेठ १५ गते हुने निर्वाचनका लागि आइतबार मनोनयनको मिति तोकिएको छ ।