२०८३ बैशाख १९ गते , शनिबार

झापामा कार्यसमिति सदस्यसहित ४ जना पत्रकारले त्यागे सदस्यता

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ ५ गते , शुक्रबार
झापामा कार्यसमिति सदस्यसहित ४ जना पत्रकारले त्यागे सदस्यता

बिर्तामोड । नेपाल पत्रकार महासंघले शुद्धीकरण अभियान चलाएसँगै झापाका चार जना सदस्यले सदस्यता त्यागेका छन् । पत्रकार महासंघ झापाका वर्तमान कार्य समिति सदस्य रञ्जित परियारसहित चार जनाले सदस्यता त्यागको स्वःघोषणा गरेका हुन् ।

महासंघले सदस्यता शुद्धीकरण मापदण्ड २०७९ ल्याएर पत्रकारितामा सक्रिय नभएकाहरुलाई स्वःघोषणा गरेर सदस्यता त्याग्न आग्रह गरेको थियो । सोहि आग्रह बमोजिम झापाका पुजन आचार्य, होमकुमारी कुमाल, कोपिला खड्का बस्नेत र रञ्जित परियारले सदस्यता त्याग गरेका हुन् । आचार्य मेची क्याम्पसमा कार्यरत छिन् भने परियार र कुमाल शिक्षक हुन् । बस्नेत कानुन व्यवसायी हुन् ।

महासंघले जेठ ५ गतेसम्म सदस्यता त्यागको स्वःघोषणा गर्न समय दिएको थियो । सो समयभित्र स्वःघोषणा गर्नेलाई सम्मानसहित विदाई गर्ने तर स्वःघोषणा नगरेपनि मापदण्ड भित्र परेकाहरुको सदस्यता नविकरण नगर्ने महासंघले जनाएको छ ।

महासंघले विधानको दफा ३२ (२) मा महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भ्रातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न नपाउने व्यवस्था गरिएकाले महासंघका केन्द्रीय समिति, प्रदेश समिति र  शाखा समितिका पदाधिकारी तथा सदस्यहरु राजनीतिक दल वा भ्रातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेको पाइएमा सदस्यता नवीकरण नगर्ने जनाएको छ । राजनीतिक दलका केन्द्र, प्रदेश, जिल्ला र गाउँपालिका स्तरसम्मका सबै समितिका पदाधिकारी रहेका सदस्यको सदस्यता नवीकरण नगर्ने शुद्धीकरण मापदण्डमा उल्लेख छ । मापदण्डमा मिडिया हाउसको व्यवस्थापक, बजार प्रतिनिधि, प्रशासनमा काम गर्नेहरुको समेत सदस्यता नवीकरण नगर्ने भनिएको छ ।

त्यस्तै जनप्रतिनिधि, निजामती स्थायी कर्मचारी (सेना, निजामती, प्रहरी, गुप्तचर, सुरक्षाकर्मीसमेत), अस्थायी, करार, सेवा आयोगहरु मार्फतका सरकारी कर्मचारी, मिडिया संस्थानबाहेकका संस्थानमा कार्यरत कर्मचारी, सरकारी कार्यालयमा करार कर्मचारीको सदस्य कायम रहेको अवस्थामा नवीकरण नगर्ने तथा सरकारी तथा गैरसरकारी क्षेत्र, बित्तिय (सहकारी, बैंक, फाइनान्स) मा पूणर्कालीन जुनसुकै पेशामा आवद्ध भएको वा मुख्य पेशा, व्यवसाय अन्य बनाएर कहिले काहीँमात्रै पत्रकारिता गर्नेको हकमा पनि सदस्यता नवीकरण नगर्ने महासंघले मापदण्ड बनाएको छ ।

झापामा हाल कायम रहेका २५५ जना सदस्यहरु मध्ये धेरै निष्क्रिय रहेका छन् । मापदण्ड पूर्ण कार्यान्वयन भए करिब ८० जना सदस्यको सदस्यता नवीकरण नहुने एक सञ्चारकर्मीले बताए । एउटा मिडिया हाउसमा आवश्यकताको विज्ञापन खुलाउने हो भने लेख्न सक्ने पत्रकार कमैले निवेदन दिन्छन्, उनले भने । महासंघको सदस्यता लिएकाहरु मध्ये धेरै अन्य पेशा व्यवसायमा संलग्न छन् ।

प्रेस सेन्टर नेपाल झापा शुद्धीकरण मापदण्डको अक्षरस पालना गर्नु पर्ने पक्षमा देखिएको छ । प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठक मापदण्ड पूर्ण कार्यान्वयन गर्नु पर्ने बताउँछन् । अन्य पेशा व्यवसाय गर्नेलाई महासंघको सदस्यताको कुनै आवश्यकता र महत्व नहुने बताउँदै चुनावमा भिड बढाउनका लागि सदस्यता दिन नहुने धारणा राख्छन् ।

महासंघ झापाले केहि दिन अघि शुद्धीकरण मापदण्ड कार्यान्वयनको बिषयमा पत्रकारका पेशागत संघ संगठनका नेतृत्वहरुसँग छलफल गरेको छ । छलफलमा सहभागी प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियनप्रेस सेन्टर नेपाल, नारी सञ्चार गृह, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), स्वतन्त्र पत्रकार संघलगायतका नेतृत्वले मापदण्ड कार्यान्वयनमा सकारात्मक रहेको बताएका थिए ।   

सम्बन्धित समाचार