२०८३ बैशाख १९ गते , शनिबार

डेढ करोड ल्यापटप खरिदमा होइन विकासमा खर्च गरौँ : माओवादी सांसद

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ ४ गते , विहीबार
डेढ करोड ल्यापटप खरिदमा होइन विकासमा खर्च गरौँ : माओवादी सांसद

विराटनगर । नेकपा माओवादी केन्द्रका सांसदले सांसदहरुका लागि ल्यापटप खरिद गर्न छुट्याएको बजेट युवा स्वरोजगारका लागि खर्च गर्न माग गरेका छन् ।
माओवादी केन्द्रका सांसद गणेश उप्रतीले सांसदका लागि ल्याटप खरिद गर्न छुट्याएको बजेट युवालाई रोजगारी सिर्जनाका लागि खर्च गर्न माग गरेका हुन् ।
कोशी प्रदेश सरकारले रकमान्तर गरेर प्रदेशसभा सचिवालयलाई एक करोड ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि प्रदेशसभा सचिवालयले ल्यापटप खरिद प्रकिया अगाडि बढाएकाे छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालय समेत सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट उपलब्ध गराएपछि प्रदेशसभा सचिवालयले एक सय वटा ल्यापटप खरिदको प्रक्रिया अगाडि बढाएको हाे ।
विकास निर्माणका कामको भुक्तानी नभइरहेका बेला प्रदेश सांसदलाई ल्यापटप खरिदको प्रकिया अगाडि बढाएको समाचार प्रकाशित भएपछि माओवादी सांसद उप्रेतीले ल्यापटप खरिदका लागि छुट्याएको बजेट युवा स्वरोजगार कार्यक्रममा खर्च गर्न माग गरेका हुन् । ‘ल्यापटप हामी आफै किन्छौ,’ माओवादी सांसद उप्रेतीले भने, ‘यो बजेटमा (ल्यापटप खरिदका लागि छुटयाएको) सरकारले युवालाई रोजगारी सिर्जना गर्न खर्च गरोस् ।’
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेश सरकारले डेढ करोड रुपैयाँ उपलब्ध गराएपछि एक सय वटा ल्यापटप खरिद प्रक्रिया अगाडि बढेको छ ।
९३ प्रदेशसभा सदस्य र ७ संसदीय समितिका सचिवलाई पनि वितरण गर्न १०० वटा ल्यापटप खरिद गर्ने प्रक्रिया अगाडि बढेको उनले बताए । ‘ हामीले ई-लेजिसलेसन (विद्युतीय संसद) को कुरा गरिरहेका छौं,’ उनले भने, ‘त्यसका लागि ल्यापटप उपलब्ध गराउन लागिएको हो ।’
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र कांग्रेस सांसद केदार कार्कीले सांसदलाई ल्यापटप बाँड्न आवश्यक नरहेको बताएका छन् ।
उनीहरुले प्रदेशसभा सचिवालयले बाड्ने ल्यापटप नलिने बताए । प्रदेशसभा सदस्यले एक महिनाको सुविधाले ल्यापटप खरिद गर्न सक्ने बताउँदै उनले सचिवालयले खरिद गरेर बाँड्नु बेठीक भएकाे आङ्बोले बताए ।
नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले सरकारले आफ्नो कर्तुत लुकाउन प्रदेश सांसदलाई ल्यापटप बाँड्न लागेको बताए । ‘यो सांसदलाई बदनाम गराउनका लागि रचिएको योजना हो’, उनले भने, ‘ल्यापटप बाँड्यो भने म चाहिँ लिन्न, ‘बजेटमा तल परिरहेका बेला सांसदलाई बदनाम गर्नका लागि बाँड्न खोजिदैछ ।’

सम्बन्धित समाचार