२०८३ बैशाख १९ गते , शनिबार

चार अवैध मेनपावरमा विभागको ताला

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ २ गते , मंगलबार
चार अवैध मेनपावरमा विभागको ताला

बिर्तामोड । अवैध रुपमा सञ्चालित इटहरीका चार वटा मेनपावरमा  वैदेशिक रोजगार विभागले ताला लगाएको छ । विभागका निर्देशक कृष्णप्रसाद भुसाल नेतृत्वको टोलीले अनुमति नलिई सञ्चालित ती मेनपावरमा ताला लगाएको हो ।

विभागका निर्देशक भुसालको नेतृत्वमा विराटनगरको श्रम तथा रोजगार कार्यालयका केही पदाधिकारीसहितको टोलीले इटहरीका विभिन्न म्यानपावर कम्पनीको शाखा कार्यालयमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा अवैध रुपमा कार्यालय सञ्चालन गरेको पाइएपछि वल्र्ड एट वर्क कन्सल्टेन्ट प्रालि, मित्र म्यानपावर, डिलक्स एचआर सोलुसन प्रालि र एड्भान्स रिक्रुटमेन्ट सर्भिस प्रालिमा ताला लगाइएको निर्देशक भुसालले बताए । 

म्यानपावर कम्पनी सञ्चालन गर्न वैदेशिक रोजगार विभागसँग इजाजत पत्र नलिई अवैध ढंगले कम्पनी सञ्चालन गरेकाले त्यस्ता म्यानपावर कम्पनीहरूमा ताला लगाइएका,’ विभागका निर्देशक भुसालले जानकारी गराए। श्रम तथा रोजगार कार्यालय विराटनगरका इन्जिनियर दुर्गा आचार्य, शाखा अधिकृत पुण्यप्रसाद पौडेललगायतको टोलीले अनुगमन निरीक्षण गरिएको हो । अवैधरूपमा सञ्चालन गर्दै आएको म्यानपावर कम्पनीहरूबाट अनुगमनको क्रममा केही थान पासपोर्ट पनि जफत गरिएको अनुगमन टोलीले बताएको छ । 

अवैधरूपमा सञ्चालन भइरहेका ती चारवटा कम्पनीहरूलाई तत्काल बन्द गराएर वैदेशिक रोजगार विभागमा सिफारिस गरी आवश्यक कारबाही गर्न अघि बढेको भुसालले जानकारी दिए । 

विभागबाट इजाजतपत्र प्राप्त नै नगरी कसरी काम गरिरहेका छन् त? भन्ने प्रश्नमा निर्देशक भुसाल भन्छन्, ‘अहिले धेरैले विभागद्वारा इजाजतपत्र प्राप्त नगरी म्यानपावर कम्पनी सञ्चालन गरिरहेका छन् । एक दुई लट मानिसलाई विदेश पठाउने भन्दै पैसा खायो अनि कम्पनी नै बन्द गरी कम्पनी सञ्चालक भाग्ने गरेका छन् ।

समयमै वैदेशिक रोजगार विभागले म्यानपावरमाथि अनुगमन तथा नियमन गर्न नसक्दा ठगीका घटना बढिरहेका छन् ।

अहिले म्यानपावर कम्पनीले नक्कली भिसा, नक्कली नाता प्रमाणीकरण लगायत अन्य कागजात बनाएर विदेश पठाउने र अलपत्र पार्ने जस्ता घटना बढिरहेका छन् । त्यस्तै खाडी मुलुक लगायत युरोप, अमेरिका, क्यानडा पठाइदिने भन्दै उनीहरूले लाखौ रूपैयाँ ठगी गर्दै आएका छन् । 

म्यानपावर व्यवसायीबाट हुने ठगी नियन्त्रण तथा रोकथाम गर्ने जिम्मेवारी विभागको हो तर यहाँ त अहिले कन्सल्टेन्सीवालाले युरोपतिर पठाउने भनेर ठगेका घटना आइरहेका छन्। त्यसमा हामीले सकभर ठगेको पैसा असुल गरिदिइरहेका छौं,’ निर्देशक भुसालले भने । 

वैदेशिक रोजगार विभागबाट इजाजतपत्र प्राप्त गरेर सञ्चालनमा रहेका अन्य म्यानपावर कम्पनीहरूलाई पनि नियमकानुनको अधिनमा रही काम कारबाही अघि बढाउन भुसालले निर्देशन दिएका छन् ।   

सम्बन्धित समाचार