बिर्तामोडमा तीन महिने निःशुल्क ब्युटी पार्लर तालिम शुरु
बिर्तामोड । झापाको बिर्तामोडमा तीन महिने निःशुल्क सौन्दर्य (ब्युटि पार्लर) सम्बन्धि आधारभूत तालिम शुरू भएको छ । युवा पुस्ताका महिलाहरूको क्षमता र सीपको विकास गरी आत्मनिर्भर बनाउने उद्देश्यले आयोजित तालिम सोमबारबाट शुरु भएको हो ।
बिर्तामोडस्थित महिलामुक्ति अभियान र युनिक मोडल ब्युटिपार्लरको संयुक्त आयोजनामा सञ्चालन गरिने तालिम बिर्तामोड नगरपालिकाका वडा नं ५ का वडाध्यक्ष रोहित प्रसाईंले उद्घाटन गरेका थिए ।
महिलामुक्ति अभियानकी अध्यक्ष राधा सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रसाई, अतिथिहरु किराँत याक्थुङ चुम्लुङ बिर्तामोड अध्यक्ष हिमाल कन्दङ्वा, नेपाल डोरी तान संघकी कोशी प्रदेश उपाध्यक्ष हिमा पौडेल, महिला उद्यमी नेपालकी अध्यक्ष शुष्मा पौडेल लगायतले शुभकामना मन्तव्य राख्दै सौन्दर्य कला सिकेर आफैंमात्रै प्रयोगमा ल्याउन सकेमात्रै पनि महिलाहरुको सौन्दर्यमा हुने ठूलो धनराशी बचत हुने धारणा राखेका थिए ।
महिला मुक्ति अभियानकी सचिव पूर्णावती लिम्बुले सञ्चालन गरेको कार्यक्रममा औचित्यमाथि आयोजकका तर्फबाट धनु कन्दङ्वाले प्रकाश गरेकी थिइन । तालिममा झापाका विभिन्न पालिका तथा इलामकासहित ४० जना बढी सहभागी भएको बताइएको छ ।