२०८३ बैशाख १९ गते , शनिबार

सम्झौताको आधा समय सकिँदा बिर्तामोड–अर्जुनधारा सडकको काम ५ प्रतिशतमात्र

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ १ गते , सोमबार
सम्झौताको आधा समय सकिँदा बिर्तामोड–अर्जुनधारा सडकको काम ५ प्रतिशतमात्र

बिर्तामोड । बिर्तामोडअर्जुनधारा सडक निर्माण सम्झौताको आधा समय सकिसक्दा काम भने पाँच प्रतिशत मात्र सम्पन्न भएको छ । दुई बर्षमा निर्माण सम्पन्न गर्ने गरि गत बर्ष जेठ ९ गते सम्झौता भएको उक्त सडकखण्डको काम पाँच प्रतिशत मात्र सम्पन्न भएको हो ।

भ्याटसहित १५ करोड ८२ लाख ७७ हजार १९९ रुपैंयाँमा प्रविणमैनाचुलीशान्ति जेभीले २०७९ जेठ ९ गते दुई बर्षमा निर्माण सम्पन्न गर्ने गरि सम्झौता गरेका थिए । निर्माण शुरु भएको आधा समय सकिँदापनि काम भने पाँच प्रतिशत मात्र सकिएको छ ।

ठेकेदार कम्पनी प्रविणमैनाचुलीशान्ति जेभी ले काम गर्न आलटाल गर्दा समयमा सडक निर्माण हुन नसक्ने आशंका बढेको छ । एक बर्षको अवधिमा ठेकेदार संस्थाले लिएको पेश्की रकम ५ प्रतिशत बराबरको समेत काम नगर्दा दोस्रो पटकको पेश्की रकम निकासा गर्न समस्या भएको सडक डिभिजन कार्यालय दमकका इन्जिनियर उज्वल खतिवडाले बताए । सभ्झौताको हिसाबले आधा काम सकिनु  पर्ने भएपनि हालसम्म पाँच प्रतिशतमात्र काम सम्पन्न भएको खतिवडा बताउँछन् ।

आयोजनास्थलमा सूचना पार्टीसमेत नराखी काम गर्दा यसको पारदर्शितामाथि समेत प्रश्न उठ्न थालेको छ । सूचना पार्टी निर्माणका लागि छुट्टै बजेट व्यवस्थापन भएपनि निर्माण कम्पनीले सूचना पार्टी राखेको छैन । आयोजना परिसरमा सबैले देख्ने गरी सूचना पाटी राख्नु पर्ने इन्जिनियर खतिवडाले बताए ।

भौतिक पुर्वाधार तथा यातायात ब्यवस्था मन्त्रालयबाट प्राप्त बजेटले उक्त सडक २०८१ जेठमा निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । सम्झौता गर्ने र काममा ढिलासुस्ती गर्ने निर्माण कम्पनीको गैर जिम्मेवारीले यात्रु तथा आसपासका बासिन्दा दैनिक कष्ट व्यहोरिरहेका छन् ।

बिर्तामोडको टाटा सोरुमबाट शुरु हुने सो सडक कप्तानबारी हुँदै सालबारी झिलसम्म ६ दशमलव १ किलोमिटरको निर्माण हुने छ । एकबर्ष बितिसक्दा २० मिटरको ड्रेनमात्र निर्माण भएको खतिवडाले जानकारी दिए । हामीले काम ढिलो भयो भनेर निर्माण पक्षलाई पटकपटक पत्र काटेका छौैं, खतिवडाले भने, ‘तीनवटा निर्माण कम्पनिमध्ये अरु दुईवटालाई तपाईको फर्म कालोसुचीमा जाने अवस्था छ भनेर भनेका छौं, अब पनि काम यही गतिमा भए दोस्रो किस्ता रकम निकासा गर्दैनौं । रकम रोक्का गरेर फर्मलाई कारवाही गर्ने प्रक्रिया अघि बढाउनेसमेत खतिवडाले बताए ।

ठेकेदार कम्पनीका अनिल भट्टराईले समयमा काम सक्न प्रतिबद्ध रहेको बताए । काम केही ढिलो भएको हो, दुई स्थानबाट कामलाई अघि बढाएका छौं, भट्टराईले भने, ‘समयमा निर्माण गरेर हस्तान्तरण गर्ने कुरामा हामी प्रतिबद्ध छौं । भट्टराईले सुचना पाटी नराखेकोमा गल्ती भएको भन्दै अब छिट्टै त्यो आयोजना बारेको बिस्तृत जानकारी सहितको सुचना पाटी बनाएर राख्ने बताए ।

उनले यात्रुले दुख पाएको भन्दै असोजसम्ममा बिर्तामोडदेखि कप्तानबारीसम्मको तीन किलोमिटर सडकमा भने कालोपत्रे गरिने जानकारी दिए । खासगरी निर्माण मजदुरको अभावका कारण मानिसले गर्ने काममा सोचेजति प्रगति गर्न नसकिएको उनले बताए । विद्युत प्रधिकरणले पोल सार्न ढिलाई गरेकाले निर्माणको काम प्रभावित भएको उनको भनाई छ ।

 

सम्बन्धित समाचार