उद्वारपछि जंगलमै लगेर छाडियो केटाकेटी
चितवन । सानै उमेरमा उद्वार गरेर चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा हुर्काइएका गैंडाका दुई बच्चा (केटाकेटी)लाई पुनः जंगलमै लगेर छाडिएको छ । दुई बर्षअघि उनीहरुलाई माउसँग विछोडिएको अवस्थामा चितवन राष्ट्रिय निकुञ्जले उद्वार गरेको थियो । पुष्पा र अञ्जली नाम पाएका उनीहरू आइतबार फेरि जंगलमै लगेर छाडिएको हो ।
एक महिनाको पुष्पा र दुई महिनाको अञ्जलीलाई चितवन राष्ट्रिय निकुञ्जले उद्वार गरेको थियो । ।
ठूलो हुँदै गएपछि हिँड्दै–डुल्दै गाउँसम्म पुगेर नोक्सान गर्ने र मानिसलाई आक्रमण गर्न सक्ने जोखिम बढेको थियो । सानो हुँदा सौराहा पुग्दा धेरैको आकर्षण बनेका थिए । दर्शकले पालो पर्खेर यी चुलबुले बच्चा गैंडासँग फोटो खिचाउँथे । ‘ठूलो हुँदै गएको गैंडा र मानिस नजिक हुनु खतरा हो, त्यसैले प्राकृतिक बासस्थलमै छाडेका हौं,’ निकुञ्जका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले भने ।
ती बच्चा गैंडालाई सौराहाबाट ट्रक चढाएर निकुञ्ज मुख्यालय कसरानजिक लामिताल पुर्याएर छाडिएको हो । नजिकको वन क्षेत्रमा छाड्दा नियमित अनुगमन तथा हेरचाह पनि हुने निकुञ्जलाई लागेको छ ।
अब गैंडाका यी बच्चाका जीवनको तेस्रो यात्रा सुरु भएको छ । निकुञ्जको टोलीले पुष्पालाई २०७६ पुस ५ मा नवलपरासीको तमासपुर र अञ्जलीलाई २०७७ चैत २३ मा नवलपरासीकै कुजौली क्षेत्रबाट उद्धार गरेको थियो । हुर्केर ३ वर्ष र २ वर्षको भएका यिनीहरू चञ्चल र केही आक्रामक देखिन थालेका थिए ।
थप आक्रामक हुनुअघि प्राकृतिक बासस्थलमा छाडेको तिवारीले बताए । जन्मेको कम समयमै माउबाट बिछोडिएर मानिसको संगतमा पुगेका यी बच्चाको प्राकृतिक बासस्थल यात्रा सुरु भएको छ । माउबाट छुटेका यस्ता बच्चा वन्यजन्तु उद्धार गरेर हुर्केपछि के गर्ने भन्ने समस्या पनि छ ।
यसअघि उद्वार गरेर हुर्काइएका गैंडाका बच्चा चिडियाखाना लगेर राख्ने या विदेशमा उपहारसमेत दिने गरिएको थियो । प्राकृतिक बासस्थलमा फर्काउनु सुखद भएको पशु कल्याणको क्षेत्रमा क्रियाशील अभियानकर्मी सुराजन श्रेष्ठले बताए । ‘उनीहरू यहाँ पनि घाँस चर्दै हुर्केका हुन् । चिडियाखानामा राख्दा राम्रो स्याहार नपाउन पनि सक्थे । अहिले वनमै छाडिएछ । अन्यत्रभन्दा वनमै लगेर छाडेको राम्रो हो,’ उनले भने ।