भ्रष्टाचारीलाई नछाड्न बिर्तामोडमा नागरिक खबरदारी
बिर्तामोड । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै झापाको बिर्तामोडमा प्रदर्शन गरिएको छ । युवा नागरिक समाजको अगुवाईमा झापाका राजनीतिक दलका प्रतिनिधिहरुले प्रदर्शन गरेका हुन् ।
शुक्रवार साँझ मुक्तिचोक भेला भएर सहभागीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलगायत भ्रष्टाचारीलाई कारबाही गर्न मागसहित प्रदर्शन गरेका हुन् । उनीहरूले भ्रष्टाचारमा संलग्नलाई नछोड्न सरकारलाई खबरदारी गरे । सहभागीहरुले नेपालको झण्डा तथा प्रचण्ड सरकारलाई काम गर्न देउ, भ्रष्टाचारीको कुनै लिंग हुँदैन, भ्रष्टचारी विरोधी महाअभियानमा एक होऔँ, भ्रष्टचारीलाई संरक्षण गर्नेलाइ सामाजिक बहिष्कार गर लगायतका प्ले कार्ड बोकेका थिए ।
र्याली बिर्तामोड बजार परिक्रमा गरी मुक्तिचोकमा कोणसभामा परिणत भएको थियो । पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न राजनीतिक दलका नेताहरू मुछिएका छन् । प्रहरीले सो प्रकरणमा मुछिएकाहरूलाई पक्राउ गरी अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । तर, अदालतबाट पक्राउ पुर्जी जारी गरिएका नेकपा (एमाले)का सचिव समेत रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अझै ‘फरार’ छन् । उनलाई उन्मुक्ति नदिन प्रदर्शनकारीले सरकारलाई सचेत गराए । जुनसुकै दल वा जतिसुकै ठुलो नेता भएपनि कडाभन्दा कडा कारवाही गर्न माग गर्दै सहभागीहरुले भ्रष्टाचारीलाई उम्किन नदिन आग्रह गरेका छन । नक्कली भुटानी शरणार्थी बनाउने उम्किए भने नागरिकले नछोड्ने चेतावनी दिएका छन् ।
प्रदर्शनकारीहरुले देशलाई कंगाल बनाउने भ्रष्टाचारी कारबाही हुनबाट जोगाइए जनताले नछोडने भन्दै सरकारलाई खबरदारी गरे । सरकारले नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई पक्राउ गरी कार्वाही गरिरहेकोमा धन्यवाद दिँदै अझ सशक्त भएर कार्वाहीमा उत्रिन आग्रह गरेका थिए । र्यालीमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका सत्तारुढ दलका कार्यकर्ताको बढी सहभागिता रहेको थियो । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तापनि सहभागी थिए ।
युवा नागरिक समाज झापाका अध्यक्ष केशव भण्डारीको अध्यक्षतामा भएको कोणसभालाई शेरबहादुर थापा, देशु सुब्बा, प्रत्युष राना, देव संग्रौलालगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको संचालन हेमलाल भट्टराईले गरेका थिए ।