बिर्तामोडको दर्जनौँ मेनपावर दर्ता बिना सञ्चालनमा, लाखौँ राजश्व गुमाउँदै पालिका
बिर्तामोड । पछिल्लो केहि महिना यता झापाको बिर्तामोडमा बर्गेल्ती मेनपावरका शाखा कार्यालय सञ्चालनमा आएका छन् । वैदेशिक रोजगार विभागले शाखा सञ्चालनमा लगाएको रोक फुकुवा गरेसँगै बिर्तामोडमा पुनः च्याउसरी मेनपावरका शाखा कार्यालय सञ्चालनमा आएका हुन् । तर, ती मेनपावरहरु व्यवसाय दर्ता बिना नै सञ्चालनमा रहेको पाइएको छ ।
कुनैपनि व्यवसाय सञ्चालन गर्दा स्थानीय तहमा दर्ता हुनु पर्ने भएपनि अधिकांश मेनपावर दर्ता नगरी सञ्चालनमा रहेको पाइएको हो । ठूलो संख्यामा रहेको मेनपावर व्यवसायको रुपमा दर्ता नहुँदा बिर्तामोड नगरपालिकाले बार्षिक लाखौँ रुपैँया राजश्व गुमाइरहेको छ ।
‘स्थानीय पालिका क्षेत्रभित्र कारोबार गर्ने सबै खालका व्यवसायले व्यवसाय दर्ता प्रमाणपत्र लिनु पर्छ,’ बिर्तामोड नगरपालिकाका प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले भने, ‘उनीहरुले व्यवसाय कर र घरबहाल कर तिर्नुपर्छ ।’ व्यवसायीले प्रत्येक बर्ष कर तिर्नुपर्ने उनले बताए । उनका अनुसार थोरै संख्यामा मात्र मेनपावर व्यवसायको रुपमा दर्ता भएको छ ।
बिर्तामोड नगरपालिकामा हालसम्म पुकार इन्टरनेसनल ओभरसिज प्रा.लि., सप्तकोशी ह्युमन रिसोर्स प्रा.लि., एमबिके ओभरसिज प्रा.लि., ओशो रिक्रुटिङ एजेन्सी प्रा.लि., डी. प्रोटोन मेनपावर सप्लायर्स प्रा.लि. लगायत केहि मेनपावरमात्र दर्ता रहेको कार्यक्रम अधिकृत पदमराज घिमिरेले जानकारी दिए । उनका अनुसार कतिपय पुराना मेनपावर दर्ता भएपनि नियमित नविकरण भएका छैनन् ।
कम्पनीको अधिकृत पूँजीका आधारमा व्यवसाय कर तिर्नुपर्ने बिर्तामोड नगरपालिकाका कार्यक्रम अधिकृत पदमराज घिमिरेले जानकारी दिए ।
उनका अनुसार पाँच लाखसम्म पूँजी भएका मेनपावर व्यवसायीले बार्षिक पाँच हजार, बीस लाखसम्म पूँजी भएकाहरुले बार्षिक ७ हजार र सो भन्दामाथि भएकाहरुले १० हजार रुपैँया व्यवसाय कर तिर्नुपर्छ । यो नियमानुसार हेर्दा मेनपावरहरुले १० हजार प्रत्येक बर्ष तिर्नुपर्ने हुन्छ ।
घरबहाल कर भने नगरपालिकाले स्थान अनुसार फरक फरक निर्धारण गरेको छ । मेनपावरका अधिकांश कार्यालयहरु अतिथीसदन क्षेत्रमा रहेका छन् ।
त्यस क्षेत्रमा सटरमा व्यवसाय गर्ने व्यवसायीले प्रति स्क्वायर फुट ४७ रुपैँया र भित्री कोठामा व्यवसाय गर्नेले २३ रुपैँयाका दरले व्यवसाय कर तिर्नु पर्ने हुन्छ । एउटा मेनपावरले न्युनतम तीनसय स्क्वायर फुटमा कार्यालय सञ्चालन गरिरहेका छन् । भित्री कोठाको हिसाब गर्ने हो भनेपनि एउटा अफिसको बार्षिक ८ हजार २८० रुपैँया बहाल कर तिर्नु पर्छ ।
यसरी हेर्दा एउटा मेनपावरले बर्षको न्युनतम १८ हजार २८० रुपैँयाका दरले कर तिर्दा न्यूनतम बिर्तामोडका ५० मेनपावरबाट ९ लाख १४ हजार रुपैँया कर पालिकाले गुमाइरहेको छ ।
यता पालिकाले व्यवसाय दर्ता गर्न छुटेका व्यवसायीलाई सचेतनाका लागि घुम्ती सेवा सञ्चालन गरिएको प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए । व्यवसायीलाई पालिकामा दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न पटक पटक सूचना जारी गरेको जानकारी दिँदै न्यौपानेले भने– ‘सरकारले जारी गरेको सूचना र भनेको कुरा आफुलेपनि सचेततापूर्वक पालना गर्नु आम नागरिककोपनि दायित्व हुन्छ ।’ तर, त्यो दायित्व इमान्दारिताका साथ व्यवसायीले पालना नगरेको न्यौपानेले गुनासो गरे ।
बाक्लो व्यवसाय भएको बिर्तामोडको वडामा वडाका वडाध्यक्ष वा सदस्य, नगरको कर्मचारी, नगरप्रहरी, वडाको कर्मचारी राखेर घुम्ती सेवा सञ्चालन गरेको उनले बताए । पालिकामा दर्ता नगरी सञ्चालन गरेको व्यवसायले कानुनी मान्यता नपाउने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले प्रष्ट्याए ।