एकाएक गायब भएका रायमाझी प्रहरीको फरार सूचीमा
काठमाण्डौ । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पक्राउ पुर्जी जारी भएका नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी फरार भएका छन्।
बुधबार पक्राउ पुर्जी जारी भएका उनी बुधबार साँझबाट नै एकाएक फरार भएका हुन् । गृह जिल्ला अर्घाखाँचीमा कार्यक्रम सकेर प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँगै बुटवल झरेका रायमाझी अहिले सम्पर्क विहिन भएको प्रहरीले जनाएको छ ।
आफूविरूद्ध पक्राउ पुर्जी जारी भएपछि उनी सञ्चारकर्मीलाई अनुसन्धानमा सहयोग गर्ने प्रतिक्रिया दिएर अर्घाखाँचीबाट हिँडेका थिए । उनी बिहीबार प्रहरी कार्यालयमा उपस्थित हुने प्रहरीको अपेक्षा थियो । प्रहरी उच्च स्रोतका अनुसार बिहीबार साँझसम्म सम्पर्कमा नआएर उनी फरार भएका हुन्।
‘उहाँ आफैं प्रहरीकोमा आउने कुरा थियो । तर बिहीबार साँझसम्म आउनुभएन,’ प्रहरी उच्च स्रोतले भन्यो,‘पक्राउ पुर्जी जारी भइसकेको सांसदजस्तो मान्छे सम्पर्कविहीन भएपछि उहाँ अब फरारको सूचीमा पर्नुभयो ।’
रायमाझी बुधबार बुटवल बस्ने भन्दै एउटा होटलमा कोठा समेत रोकेका थिए । तर पक्राउ पुर्जी जारी भएपछि कोठा रद्द गरी बुधबार राति नै भैरहवाबाट काठमाडौंका लागि जहाजको टिकट लिएका थिए । पछि उनी जहाजको टिकट पनि रद्द गरी सम्पर्कविहीन भएको रूपन्देही प्रहरीको भनाइ छ ।
प्रहरीले बिहीबारदेखि उनको खोजी गरिरहेको छ । रायमाझी फरार भए पनि यो प्रकरणको अनुसन्धान निरन्तर अघि बढ्ने प्रहरीको भनाइ छ । यस अघि नै रायमाझीका छोरा सन्दीपलाई प्रहरीले पक्राउ गरिसकेको छ ।