२०८३ बैशाख १९ गते , शनिबार

आज २५६७औँ बुद्ध जयन्ती मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

sajilo news
परिवेश मिडिया
२०८० बैशाख २२ गते , शुक्रबार
आज २५६७औँ बुद्ध जयन्ती मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

बिर्तामोड । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औं जयन्ती आज विविध कायक्रम गरी मनाइँदै छ । अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौं कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि र्पुयाएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।

यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ ।

इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।

राजकुमारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । उनान्तीस वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए ।

यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताएका छन् ।

२५६७औँ बुद्ध जयन्तीको अवसरमा आज दिएको शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले गौतम बुद्धले प्रतिपादन गर्नुभएको अहिंसा र शान्तिको सन्देशले व्यक्ति, परिवार, समाज, देश र विश्वको सर्वोत्तम हित र प्रगतिका लागि सदैव प्रेरणा दिने विश्वाससमेत व्यक्त गरे ।

सन्देशमा भनिएको छ, ‘शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।

उनले २५६७औँ बुद्ध जयन्तीको यस शुभ अवसरमा बुद्धको अहिंसात्मक शान्ति सन्देश तथा उपदेशको स्मरण गर्दै एकता, सहिष्णुता, सद्भाव, अहिंसा र शान्तिको महान् अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि बुद्धजयन्तीको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुने बताएका छन् ।

२५६७औं बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बुद्धको त्याग, विचार र अभ्यास नेपालीका लागि विशेष ऐतिहासिक गौरवका विषय भएको उनले उल्लेख गरे ।

सन्देशमा भनिएको छ, ‘बौद्ध धर्मावलम्बीलगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, दीर्घायु, समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

उनले भने, ‘नेपालको भूमिमा जन्मिनुभएका शान्तिका अग्रदूत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधीज्ञान प्राप्त गर्नुभएको प्रसङ्ग आज पनि उत्तिकै महत्वपूर्ण मानिन्छ, बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले उहाँका विचार विश्वभरि लोकप्रिय र कालजयी रहन सकेका हुन् ।

प्रधानमन्त्री दाहालले बुद्ध दर्शन, बुद्धको जन्मभूमि लुम्बिनी र महत्वपूर्ण सबै बौद्ध क्षेत्रहरूको प्रवद्र्धन र विकास गर्न नेपाल सरकार प्रतिवद्ध रहेको जानकारी गराउँदै बुद्धजयन्तीले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्न हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार