२०८३ बैशाख १९ गते , शनिबार

एमाले सचिव रायमाझी, उनका छोरा सन्दिप र बादलपुत्र प्रतिक विरुद्ध पक्राउ पुर्जी जारी

sajilo news
परिवेश मिडिया
२०८० बैशाख २० गते , बुधबार
एमाले सचिव रायमाझी, उनका छोरा सन्दिप र बादलपुत्र प्रतिक विरुद्ध पक्राउ पुर्जी जारी

काठमाण्डौ । नेकपा एमाले सचिव एवम् प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, उनका छोरा सन्दिप र प्रतिक थापा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा अनुसन्धान गर्न प्रहरीको निवेदनमा जिल्ला अदालत काठमाण्डौले उनीहरुविरुद्ध बुधबार पक्राउ पुजी जारी गरेको हो ।

प्रतिक पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको अभियोगमा प्रतिक विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत, काठमाण्डौले उनलाई पक्राउ गर्न पुर्जी दिएको अदालत स्रोतले बतायो । थापाले बुबा गृहमन्त्री भएका बेला शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै असुली गरेको गिरोहबाट आर्थिक लाभ लिएर अनुचित कार्य गरेको भन्दै प्रहरीले पक्राउ पुर्जी जारी गरिदिन अदालतमा भनेको थियो ।

त्यसअनुसार प्रहरीले पेश गरेको प्रमाणका आधारमा पक्राउ पुर्जी जारी भएको अदालतले स्रोतको भनाइ छ ।

रायमाझीले आफूविरुद्ध लगाइएको आरोप झुटो भएको बताएका छन् । गृहजिल्ला अर्घाखाँचीमा रहेका रायमाझीले आफूमाथि लगाइएको आरोपमा सत्यता नभएको बताए ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैतमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।

उनीहरुको बयानका क्रममा पूर्वगृहमन्त्री बादलका छोरा प्रतिकले पनि आफूहरुसँग सहयोग गरेको बताएका छन् । यो प्रकरणमा पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, पूर्वगृहसचिव एवम् राष्ट्रपति कार्यालयका वहालवाला सचिव टेकनारायण पाण्डे समेत पक्राउ परिसकेका छन् ।

उनीहरुको बयान लिने क्रममा रामबहादुर थापा बादलर कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री भएका बेला उनीहरुले कर्मचारी प्रशासन र सचिवालयलाई मिलाएरनेपाली युवालाई शरणार्थी बनाउने प्रयास गरेको खुलेको थियो ।

शरणार्थी दर्ता प्रक्रियामा छुटेकाहरुबारे अध्ययन र थप प्रमाण जुटाउन भन्दै २९ असार २०७६ मा केपी शर्मा ओली नेतृत्वको सरकारले गृह मन्त्रालयका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदल गठन भएबाटै अनुसूची फारममा नाम थप गरेर शरणार्थी बनाउन एउटा गिरोह लागि परेको थियो ।

त्यही काममा तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पनि संलग्न देखिएका छन् । राईलाई प्रहरीले मंगलबार ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो । हाल उनी जिल्ला प्रहरी परिसर, टेकुको हिरासतमा छन् ।

सम्बन्धित समाचार