२०८३ बैशाख १९ गते , शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री र सञ्चारमन्त्रीद्वारा शुभकामना व्यक्त

sajilo news
परिवेश मिडिया
२०८० बैशाख २० गते , बुधबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री र सञ्चारमन्त्रीद्वारा शुभकामना व्यक्त

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चार क्षेत्रले आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न आग्रह गरेका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवस, मे ३ (वैशाख २०) का अवसरमा शुभकामना दिँदै नेपालमा संवैधानिक दृष्टिले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गरिएको र त्यसलाई व्यवहारमा कार्यान्वयनमा ल्याउन सरकारले सञ्चार क्षेत्रको संरक्षण, सम्वद्र्धन एवं विकासका निम्ति यसको पुनःसंरचना, नीतिगत र कानुनी सुधारका क्षेत्रमा जोड दिएको उल्लेख गरे । उनले भने, ‘प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा होइन, यो समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय हो, लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र प्रेसको महत्त्व सरकारले बुझेको छ ।

प्रधानमन्त्री दाहालले नेपालको संविधानको मूल मर्म र भावना एवं सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्यअनुरूप नेपाली सञ्चार क्षेत्रको पुनःसंरचना अहिलेको प्रमुख आवश्यकता भएको बताउँदै प्रधानमन्त्री दाहालले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, पत्रकारको दक्षता अभिवृद्धिका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना र सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापनाका लागि सरकारका तर्फबाट पहल भइरहेको जानकारीसमेत दिए ।

त्यसैगरी सञ्चारमाध्यमको नियमनका लागि आमसञ्चार प्राधिकरणजस्ता निकायको स्थापना, प्रेस काउन्सिलको पुनःसंरचना, सञ्चारमाध्यमलाई सञ्चार सेवा उद्योगको मान्यता, विज्ञापन बोर्डमार्फत सरकारी विज्ञापनको समानुपातिक वितरण, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बिमा, ज्येष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था एवं एकीकृत आमसञ्चार विकास कोषको स्थापनाका लागि सरकारका तर्फबाट पहल भइरहेको उनको भनाइ छ ।

प्रेस स्वतन्त्रता दिवसबाट राष्ट्रियता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको अधिकार र सञ्चारमाध्यमको हितका पक्षमा दृढतापूर्वक उभिई पत्रकारिताको विकासका साथै नेपाल र नेपाली जनताको हितमा काम गर्न हामी सबैलाई प्रेरणा मिलोस्, यही कामनासहित सबैमा पुनः हार्दिक बधाई तथा शुभकामना,’ शुभकामना सन्देशमा भनिएको छ ।

उनले दिवसको अवसरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, न्याय र समानताका लागि विभिन्न आन्दोलन र सङ्घर्षमा सहादत प्राप्त गर्नुहुने महान् सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । बेपत्ता योद्धाप्रति उच्च सम्मानका साथ घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रताको प्रत्याभूतिमा देखिएका डिजिटललगायतका चुनौती कम गर्न साइबर सुरक्षा नीति, साइबर सचेतनाका कार्यक्रममा पनि सरकार गम्भीर रहेको प्रष्ट पारेकी छिन्।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सरकारका प्रवक्ता शर्माले प्रेस स्वतन्त्रताको सवालमा क्रियाशील राष्ट्रिय/अन्तर्राष्ट्रिय संस्थाको चासोलाई सरकारले नजिकबाट हेरिरहेको उल्लेख गरिन् ।

सरकारले सञ्चारसम्बद्ध संस्था तथा यस क्षेत्रका विज्ञको राय सुझावका आधारमा कानून बनाउन कार्यदल निर्माण तथा सरोकारवालासँगको विषयगत छलफललाई प्राथमिकता दिएको मन्त्री शर्माको भनाइ छ । कानून निर्माणको प्रक्रियालाई पारदर्शी बनाउँदै आम सरोकारवालाको राय सुझाव सुनिश्चित गर्न विधेयकका मस्यौदा बेवसाइटबाट सार्वजनिक गर्ने परिपाटी मिलाइएको छ, प्रेस स्वतन्त्रतालाई बलियो बनाउन सूचनाको हकसम्बन्धी ऐन, श्रमजीवी पत्रकार ऐनलगायत विद्यमान कानूनको कार्यान्वयनमा पनि सरकार दृढ छ,’ उनले भनिन् ।

पत्रकारिता र पत्रकारको पेसागत तथा भौतिक सुरक्षामा सरकारले कुनै पनि खालको सम्झौता नगर्ने तथ्य दोहोर्याउँदै उनले प्रेस स्वतन्त्रताविरुद्ध हुने घटनामा दोषीलाई उन्मुक्ति दिनुहुँदैन भन्ने कुरामा सरकार स्पष्ट र प्रतिबद्ध रहेको बताइन् ।

मन्त्री शर्माले निरासा भाव दिने प्रस्तुतिभन्दा आशा, उत्साहका साथ समाज र मुलुकलाई सकारात्मक बाटोमा अघि बढ्न प्रेरित गर्ने सामग्री उत्पादन तथा प्रकाशन/प्रसारणमा ध्यान दिन सञ्चार जगत्सँग आग्रह गरेकी छिन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि भएका सङ्घर्षमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुभएका सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपाङ्गलगायत प्रेस स्वतन्त्रताको आन्दोलनमा योगदान गर्नेप्रति उच्च सम्मान प्रकट गर्दछु,’ शुभकामना सन्देशमा उनले भनेकी छिन् ।

सम्बन्धित समाचार