विकल्प दिएर मात्र हटियाको घर टहरा खाली गराउन नगरपालिकालाई आग्रह
बिर्तामोड । बिर्तामोड नगरपालिका ५ स्थित बुधबारे हटियाका व्यवसायीहरुलाई विकल्प दिएरमात्र सो क्षेत्र खाली गराउन आग्रह गरिएको छ । व्यापारीहरु आर्थिक मन्दिको चपेटामा रहेका कारण अन्य स्थानमा स्थानान्तरण गरेर मात्र हटिया खाली गराउन विर्तामोड उद्योग वाणिज्य संघ, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले बिर्तामोड नगरपालिकालाई आग्रह गरेका हुन् ।
बिर्तामोड नगरपालिकाले अन्तिम पटक १० दिनको अल्टिमेटम दिएर वैशाख ४ गते बुधबारे हटियामा व्यवसायीक कम्प्लेक्स निर्माणका लागि डिपीआर निर्माणको प्रक्रिया शुरु भएको भन्दै सो क्षेत्र खाली गराउन सूचना जारी गरेको छ । नगरपालिकाले पटक पटक सूचना जारी गरेपनि व्यापारीहरुले बेवास्ता गरेपछि नगरपालिकाले १० दिने अल्टिमेटम दिएको हो ।
बुधबार बिर्तामोड उद्योग वाणिज्य संघले विज्ञप्तिमार्फत व्यवसायीक कम्प्लेक्स बन्नु अघि बुधबारे हटियामा रहेका व्यवसायीहरुलाई अस्थायी रुपमा अन्यत्र व्यवस्थापन गर्न आग्रह गरेको छ । व्यवसायीहरु कुनै न कुनै रुपमा वित्तीय संघसंस्थाहरुसँग जोडिएको र दैनिक कारोबारबाट घरव्यवहार चलाउनुका साथै वित्तीय संस्थाको व्याज तिर्नु पर्ने विज्ञप्तिमा उल्लेख छ ।
संघका अध्यक्ष प्रकाश शिवाकोटीद्वारा हस्ताक्षरित विज्ञप्तिमा हाल सो क्षेत्रमा रहेका व्यापारीलाई कम्प्लेक्स निर्माण पश्चातपनि सोहि स्थानमा उचित व्यवस्थापन गरि व्यापार व्यवसाय गर्ने वातावरण मिलाइदिन बिर्तामोड नगरपालिकालाई आग्रह गरिएको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी बिर्तामोड नगर कमिटीलेपनि वुधबार नै विज्ञप्ति जारी गर्दै बुधबारे हटियामा व्यवसायीक कम्प्लेक्स निर्माणको नाममा व्यापारी हटाउन सूचना प्रवाह गरेको विभिन्न माध्यमबाट जानकारी भएको जनाएको छ । ‘आर्थिक रुपले समस्या सिर्जना भएको वर्तमान परिस्थितीमा साना व्यवसायीलाई विकल्पसमेत नदिइ स्वार्थसमूहको योजना मुताविक नगरपालिकाले गरेको निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नयाँ संरचना निर्माण गरी हाल रहेका व्यापारीलाई यथास्थानमा व्यापार गर्न दिने नियत नगरपालिकाको निर्णयमा नदेखिएको तथा तत्काल नयाँ संरचना निर्माण गर्ने भरपर्दो आधार नगरपालिकाले दिन नसकेकोले हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको हो ।’
व्यवसायीको उचित व्यवस्थापन र संरचना निर्माणपश्चात त्यहाँबाट विस्थापित हुने व्यवसायीको पुनर्स्थापनाको ग्यारेन्टी गरेरमात्र प्रक्रिया शुरु गर्न रास्वपाले माग गरेको छ । नगर सभापति शम्भु भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा वार्ता, संवाद र सहमतिमा मात्र यावत कार्य अगाडी बढाउन नगरपालिकालाई आग्रह गरिएको हो ।