प्रहरीद्वारा पत्रकारमाथि भएको दुर्व्यवहारको विरोध
बिर्तामोड । वुधबार दमकको ओम मेची अस्पतालमा प्रहरीले पत्रकारमाथि गरेको दुर्व्यवहारको नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । महासंघले विज्ञप्ति जारी गरी प्रहरीको उक्त कार्य निन्दनीय भएको भन्दै विरोध जनाएको हो ।
वुधबार ओम मेची अस्पतालमा सुत्केरीको मृत्यु भएको बिषयलाई लिएर समाचार संकलनमा गएको बेला पत्रकारहरु चिरञ्जिवी घिमिरे, विष्णुप्रसाद पोखरेल र सुदिप अधिकारीलाई दुर्व्यवहार गरेको थियो ।
‘सुत्केरीको मृत्युजस्तो संवेदनशील बिषयमा समाचार संकलनका लागि जुटेका पत्रकारमाथि प्रहरीले गरेको यो हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी काम हो । संविधानले सुनिश्चित गरेको पत्रकार अधिकार र नागरिकको सुसूचित हुने अधिकारमाथि आघात पुर्याउने यस्ता कार्यमा संलग्नलाई तत्काल कारबाहीको दायरमा ल्याएर पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा प्रेस स्वतन्त्रताको उपभोगको वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।