२०८३ बैशाख १९ गते , शनिबार

वित्तीय गुन्डाराजका विरुद्ध नेकपाले जनसभा गर्दै

sajilo news
परिवेश मिडिया
२०८० बैशाख ५ गते , मंगलबार
वित्तीय गुन्डाराजका विरुद्ध नेकपाले जनसभा गर्दै

बिर्तामोड ।  बैंक, वित्तीय संस्था तथा मिटरब्याजीहरुले चर्को व्याज, शोषण र  गुण्डाराज सञ्चालन गरेको भन्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनसभा गर्ने भएको छ । पार्टीले वैशाख ६ गते बुधबार (भोलि) झापाको बिर्तामोडमा विशाल जनसभा तथा विरोध प्रदर्शन गर्न लागेको हो ।

बिर्तामोडको मुक्तिचोकस्थित हनुमान कम्प्लेक्स अगाडि जनसभा गर्ने तयारी गरिएको आज बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पार्टीका झापा जिल्ला इन्चार्ज प्रशान्त सी ले जानकारी दिए ।

झापामा भइरहेका भ्रष्टाचार, अनियमितता, कालोबजारी, ठगी, लागूऔषध कारोबार, यौन व्यवसायवैदेशिक हस्तक्षेप तथा सीमा अतिक्रमणआदि विषयहरु लगायत देश र जनता विरुद्ध हुने गतिविधिका विरुद्ध आम जनतालाई ऐक्यवद्धता भई संघर्षमा आउन समेत उक्त पार्टीले अपिल गरेको छ ।

भोलि हुने सभालाई  गोरखा जेलब्रेककी कमान्डर तथा पार्टीको स्थायी समिति सदस्य उमा भुजेल (शिलु)ले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

वित्तीय संस्थाहरूले सर्वसाधारणलाई आर्थिक, मानसिक शोषण गर्दै आएको र त्यसमाथि मिटर ब्याजी साहुहरुले सर्वसाधारणहरूलाई उठिबास लगाएको, वित्तीय क्षेत्रले जनतामा गरेको शोषण विरुद्ध सङ्घर्षको उद्घोष गर्ने उद्देश्यले आयोजना गर्न लागिएको जनसभामा झापाका सयौँ लघुवित्त, मिटर व्याज पीडितहरूको सहभागिता रहने जानकारी गराउँदै देश र जनताको विषयमा गम्भीरतापूर्वक चिन्ता गर्ने सबै देशभक्त, क्रान्तिकारी, सच्चा लोकतन्त्रवादी, राष्ट्रिय उद्योग, मध्यमवर्ग लगायत सम्पूर्ण श्रमजीवी वर्गलाई पार्टी धु्रविकरणको लागि नेपाल कम्युनिष्ट पार्टीले अपिल गरेको छ ।

राष्ट्रको वर्तमान संकट, यस सङ्कटबाट फाइदा उठाउने यो देशको हित नचाहने बिभिन्न शक्ति केन्द्रहरूले पैदा गरेको भ्रम, षड्यन्त्रबाट जनतालाई बचाएर सही दिशा प्रदान गर्न नेपाल कम्युनिष्ट पार्टीले २०७१ साल देखि यि मुद्दालाई उठाउँदै आएको र यो मुद्दाहरूलाई टुङ्गोमा पुर्याइने गरि पार्टी लागि परेको इन्चार्ज प्रशान्तको भनाई छ ।

जनसभामा चार वटा जनवर्गीय  संगठनहरू अखिल नेपाल क्रान्तिकारी युवा संगठन नेपाल, अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल क्रान्तिकारीको समेत प्रतिनिधित्व हुने र उक्त जवसहरुको जिल्ला सम्मेलन समेत हुने विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार