२०८३ बैशाख १९ गते , शनिबार

सिरुवामा विदा दिने बिर्तामोडको निर्णय

sajilo news
परिवेश मिडिया
२०७९ चैत्र ३० गते , विहीबार
सिरुवामा विदा दिने बिर्तामोडको निर्णय

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले बैशाख ३ गते आइतबार स्थानीय विदा दिने निर्णय गरेको छ । नगरपालिकाले सिरुवा पर्वको अवसरमा वैशाख ३ गते स्थानीय विदा दिने निर्णय गरेको हो ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज (विहीबार) बसेको नगर कार्यपालिकाको बैठकले सिरुवा पर्वको अवसरमा विदा दिने निर्णय गरेको हो । बैठकले बैशाख ३ गते नियमितरुपमा सिरुवा पर्वको स्थानीय विदा दिने निर्णय गरेको जनाइएको छ ।

झापा, मोरङ र सुनसरी जिल्लामा बस्ने राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझीलगायतका जातिले सिरुवा मनाउने गर्छन् । राजवंशी समुदायले बैशाख १ देखि ३ गतेसम्म सिरुवा पर्व मनाउने गर्दछन् । जसमा पहिलो दिन पानी सिरुवा, दोश्रो दिन कादो सिरुवा र तेश्रो दिन रंग सिरुवा मनाउने गर्दछन् ।

यस्तै कार्यपालिकाको बैठकले प्रदेश समपुरक कोषको लागि गोकुल जोशी मार्ग निर्माण सम्बन्धि योजनालाई निरन्तरता दिने, सिटिइभिटीद्वारा सञ्चालित बहुप्राविधिक कलेज सञ्चालनका लागि लक्ष्मी आधारभुत विद्यालय वडा नम्बर ७ को नाममा दर्ता कायम रहेको ३ विगाह १९ कठ्ठा १० धुर क्षेत्रफलको जग्गा उक्त कलेज सञ्चालनका लागि ३० वर्षको लागि लिजमा लिने गरि आवश्यक प्रक्रिया अगाडी बढाउने, राजश्व परिचालनलाई व्यवस्थित बनाउन सम्बन्धित वडाका वडाअध्यक्ष वा निजले तोकेको वडा सदस्यको संयोजकत्वमा बैशाख ५ गतेदेखि घुम्ती सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले बिर्तामोड नगर अस्पतालमा रहेको पुरानो भवन रहेको ठाउँमा नयाँ भवन निर्माण गर्नु पर्ने भएकोले हाल रहेको पुरानो भवनलाई नियमानुसार लिलाम विक्री गर्ने, नगरपालिकाको हाल रहेको प्रशासकीय भवन अपुग भएकोले नयाँ भवन निर्माणका लागि शहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार विभागमा प्रस्ताव पेश गर्नेमदरसा तालिमुल कुरान  वडा नम्बर ३ र नगर गौरव भिलेज नयाँ बस्ती वडा नम्बर ७ का लागि आगामी आर्थिक वर्षदेखि एक÷एक  जना वाल विकास शिक्षक उपलव्ध गराई कक्षा सञ्चालन गराउने लगायतका निर्णय गरेको छ ।

बैठकमा बोल्दै नगर प्रमुख प्रसाईले कार्यपालिकाले गरेका निर्णयहरुलाई उत्तरदायी ढंगले कार्यान्वयन गर्न सबैलाई आग्रह गरिन् । जनताले अनुमोदन गरेर पठाएका जनप्रतिनिधिले प्रक्रियागत ढंगबाट निर्णयलाई अक्षरस पालना गर्नु पर्नेमा उनले जोड दिइन् ।

सम्बन्धित समाचार