२०८३ बैशाख १९ गते , शनिबार

उद्घाटनको २ बर्षसम्मपनि धरहरा अधुरै

sajilo news
परिवेश मिडिया
२०७९ चैत्र २६ गते , आईतबार
उद्घाटनको २ बर्षसम्मपनि धरहरा अधुरै

काठमाण्डौ । तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले धरहरा उद्घाटन गरेको दुई वर्ष हुन लाग्दा पनि अझै अधुरै छ । ओलीले २०७८ वैशाख ११ गते धरहरा प्रवेशद्वारमा राखिएको शिलालेख अनावरण गरी उद्घाटन गरेको भएपनि अहिलेसम्म धरहराको काम सम्पन्न हुन सकेको छैन ।

२०७२ को भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माणका लागि ओलीले २०७२ फागुन ४ गते मेरो धरहरा मै बनाउँछुअभियान घोषणा गरेका थिए । २०७५ साल पुस ५ गते शिलान्यास पनि भयो ।

उनले २०७८ वैशाखमै उद्घाटनका लागि ठेकेदार कम्पनीलाई दबाब दिएको स्रोत बताउँछ। त्यसो हुँदा ठेकेदार कम्पनीले अरू काम छाडेर टावर निर्माण भने सकेको थियो ।

हाल पुरानो धरहरा भत्किएको ठाउँ नजिकै टावर बनाइएको छ । तर पुनर्निर्माणको काम सकिएको छैन ।

ओलीले धेरै काम बाँकी हुँदै हतारमा धरहरा उद्घाटन गरेकाले काम सकिन अझै समय लाग्न उल्लेख गरिएको छ । निर्माणका जिम्मा पाएको रमण निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर रमेश पौडेलका अनुसार हाल धरहरा वरपर सौन्दर्यीकरण, बगैंचा र बेसमेन्ट आसपास बनाइने सटरको  काम बाँकी नै छ ।

हालसम्म ८५ प्रतिशत काम सकिएको छ। अब १५ प्रतिशत काम गर्न बाँकी छ,’ उनले भने ।

धरहरा क्षेत्रमा निर्माण गरिने कतिपय संरचनामा सम्झौताभन्दा फरक किसिमको डिजाइन गर्नुपर्ने भएका कारण पनि थप ढिलाइ भएको उनले बताए ।

कतिपय संरचनाको डिजाइन परिवर्तन भएको छ। परामर्शदाता छनोटमा उस्तै ढिलाइ छ । हामीले काम गरेको करिब १० करोड रूपैयाँ पैसा आएकै छैन। जसले गर्दा पनि काममा समस्या देखिएको छ,’ उनले भने ।

निर्माण कम्पनीले असार मसान्तसम्म भवन निर्माण विभागलाई धरहरा हस्तान्तरण गरिसक्ने समयसीमा थियो । तर विभिन्न कारणले समय थप गर्नुपरेको उनको भनाइ छ ।

उनका अनुसार बाहिरी सुन्दरतासहित पूर्ण धरहरा तयार हुन आगामी असोजसम्म लाग्छ ।

असोजसम्ममा हामी भवन निर्माण विभागलाई हस्तान्तरण गर्छौँ,’ उनले भने ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा पुनर्निर्माण भइरहेको धरहराका लागि तीन अर्ब ४८ करोड रूपैयाँमा ठेक्का दिइएको हो । निर्माण कम्पनीका अनुसार हालसम्म दुई अर्ब १५ करोड रूपैयाँ खर्च भइसकेको छ ।

भिमसेन थापाले ११ तले बनाएको यो धरहरा ९० सालको भुइँचालोमा भत्केर नौ तलामा सीमित भएको थियो। त्यसपछि नौ तला नै राखेर पुनर्निर्माण गरिएको थियो। अहिले बाहिरबाट देखिँदा ११ तले छ। भित्र भने २२ तला छ । जमिनमुनि तीनवटा तला बनाइएको छ ।

४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको वरपर विश्राम स्थलसहितको बगैंचा हुनेछ । ऐतिहासिक सुन्धारामा २४ सै घन्टा पानी आउने छ । परिसरमा संग्रहालय, रंगीन जलफोहोरा, प्रदर्शनी, स्मारिका पसललगायत संरचना रहन्छन् । मुनिका तीनवटा तला पार्किङका लागि छुट्याइनेछ। यहाँ चार सय गाडी र सात सय मोटरसाइकल पार्किङ गर्न सकिने उल्लेख छ ।  

सम्बन्धित समाचार