सभामुख घिमिरेले फिर्ता लिए प्रेस विरोधी अभिव्यक्ति
बिर्तामोड । सभामुख देवराज घिमिरेले ‘प्रेसप्रतिको विवादास्पद बोली’ फिर्ता लिएका छन् ।
आज नेपाल पत्रकार महासंघको टोली सभामुख घिमिरेको कार्यकक्षमा छलफलका लागि गएको समयमा उनले आफ्नो अभिव्यक्ति फिर्ता लिएका महासंघका महासचिव रोशन पुरीले बताए ।
महासचिव पुरीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको विवरण अनुसार सभामुख घिमिरेले नेपाली प्रेसले लोकतन्त्रका लागि खेलेको भूमिकाको सम्मान गर्दै प्रेस स्वतन्त्रताप्रति प्रतिवद्धता जनाएका छन् ।
दुई दिन अघि महासंघकै टोली सभामुखलाई भेट्न जाँदा भएको कुराकानीका सन्दर्भमा सभामुखले बोलेका कुरा विवादमा आएको थियो । उनले नेपाली पत्रकारहरु विक्ने गरेको आरोप लगाएको भनी विवाद भएको थियो ।
आजको छलफलमा महासंघका तर्फबाट अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी सहभागी थिए भने सभामुख घिमिरे, उनका तर्फबाट प्रेस सल्लाहकार शेखर अधिकारी र प्रधानमन्त्रीका पूर्व प्रेस संयोजक चेतन अधिकारीको उपस्थिति रहेको थियो ।