दशनामी समुदायलाई आदिवासीको रुपमा परिभाषित गर्न माग
इटहरी । नेपाल दशनामी समाजले दशनामी सन्यासी समुदायलाई आदिवासी जातीको रूपमा परिभाषित गर्न माग गरेको छ । इटहरीमा भएको दशनामी समाजको छैटौँ राष्ट्रिय महाधिवेशनले नौ बुँदे घोषणा पत्र जारी गर्दै नेपालमा बसोबास गर्ने दशनामी सन्यासी समुदायलाई राष्ट्रिय समावेशी आयोग मार्फत थर सूचीकरण गर्न पनि माग गरेको हो ।
यस्तै दशनामी जातिसँग सम्बन्धित पुरानो मौलिक परम्परा, गढी किल्ला, ऐतिहासिक स्थल, समाधि स्थल, मठमन्दिर, गुफा, संस्कृति, परम्परा, पुराना दस्ताबेज, शिलालेख, भाषा तथा धार्मिक पुरातात्त्विक महत्त्वका स्थलहरू आदिको व्यवस्थित रूपमा संरक्षण गर्न आवश्यक बजेट व्यवस्थाका लागि तिनै तहका सरकारलाई घोषणा पत्र मार्फत समाजले ध्यानाकर्षण गराएको छ ।
घोषणा पत्रमा भनिएको छ,‘नेपालको विद्यमान कानुनले आदिवासीको ठोस परिभाषा नगरेको हुँदा आदिम युगदेखि यस धर्तीमा बसोबास रही आएको खस आर्य तथा यस अन्तर्गतको दशनामी सन्यासी समुदायलाई आदिवासी जातीको रूपमा परिभाषित गर्न आवश्यक छ ।’
घोषणा पत्रमा दशनामी सन्यासी जातिको मौलिक संस्कार संस्कृतिको थप अध्ययन अनुसन्धान गरी संरक्षण संबर्द्धन गर्दै संस्कारगत एकरूपता कायम गर्न समाजका तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने उल्लेख छ ।
नौ बुँदे घोषणा पत्रमा दशनामी अक्षयकोष सञ्चालन सम्बन्धी कार्यविधि अनुरूप कोष सञ्चालन गर्ने, कृषि क्षेत्रमा रहेका यस समुदायका मानिसहरूको जीवनस्तर उकास्न आधुनिक कृषि प्रणालीमा जोड दिने उल्लेख छ । यसै गरी दशनामीहरुको समग्र पारिवारिक लगत र तथ्याङ्क सङ्कलन गर्न आवश्यक देखिएकोले तथ्याङ्क सङ्कलन कार्य तथा सांगठानिक कार्यलाई तीव्रता दिन डिजिटलाइज प्रविधिद्वारा व्यवस्थापन गर्ने उल्लेख गरिएको छ ।
महाधिवेशनले गोविन्द विक्रम गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन समेत गरेको छ । समाजको वरिष्ठ उपाध्यक्षमा तारा गिरी, केन्द्रीय उपाध्यक्षहरूमा तेजबहादुर पुरी कोसी, सुरेश गिरी मधेस, तुलसी गिरी, गण्डकी, गोपाल गिरी लुम्बिनी, पार्वती कुमारी गिरी कर्णाली, हिमालय गिरी सुदूरपश्चिम चयन भएका छन् ।
यस्तै महिला उपाध्यक्षमा रीतु गिरी, खुल्ला उपाध्यक्षमा हिमाल गिरी, सरस्वती गिरी, सुरेन्द्रबहादुर गिरी सचिवमा अशोक गिरी, सन्तोष गिरी, जगतमोहन गिरी निर्वाचित भएका छन् । कोषाध्यक्षमा भक्तबहादुर पुरी निर्वाचित भएका छन् भने महासचिव पछि मनोनीत गरिने अध्यक्ष गोविन्द विक्रम गिरीले बताए ।