बिर्तामोडबाट सडक मानवको उद्वार
बिर्तामोड । झापाको बिर्तामोडबाट एक महिलाको उद्वार गरिएको छ । बिर्तामोडको मुक्ति चोकस्थित ट्राफिक पोष्टमा आश्रय लिएर बस्दै आएकी महिलाको शनिबार उद्वार गरिएको हो ।
अर्जुनधाराको कटहर डाँडा घर र सिता तामाङ नाम बताउने ती महिलाको पूर्व सञ्चारकर्मी तथा अभियान्ता तिर्थ सिग्देलको अगुवाई र बिर्ता लेडि जेसिज तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको सहजीकरणमा उद्वार गरिएको हो ।
करिब चार महिनादेखि ती महिला उक्त स्थानमा बस्दै आएको स्थानीयहरु बताउँछन् । ती महिलाको मानसिक सन्तुलन केहि हदसम्म बिग्रिएको सिग्देलले बताए । उनलाई सञ्चारकर्मी कौसल कान्छोले राधिका दासीले सञ्चालन गरेको इटहरीस्थित माया घरमा समन्वय गरेर लगिएको छ । बिर्ता लेडि जेसिजका अध्यक्ष संगिता गिरीले ती महिलालाई साथैमा इटहरीसम्म पुर्याउन सहयोग गरेकी छिन् ।
होस्टेमा हैसे अभियान सञ्चालन गरिरहेका सिग्देलले समस्याको तत्काल समाधान खोजिने कार्य अनुरुप ती महिलाको उद्वारमा पहल गरेको बताए । उनले सहजीकरणमा सहयोग गर्ने जेसिज अध्यक्ष गिरी, सञ्चारकर्मी कान्छो, ट्राफिक प्रमुख प्रबिन जोशी, विजय डालमियालगायत सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।