प्रदेश १ को नामाकरण आज टेबल हुँदै
विराटनगर । प्रदेश १ को नामकरण गर्नका लागि दलहरुले गृहकार्य तीव्र बनाएका छन् । प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकालमा नामको विषयले बैठकमा औपचारिक रुपमा प्रवेश नै पाएको थिएन । पछिल्लो राजनीतिक घटनाक्रमकाबीच दलहरुले नामको विषय टुङ्गो लगाउन गृहकार्य तीव्र बनाएका हुन् ।
नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार प्रदेशसभामा आजै नामको विषयले प्रवेश पाउने सम्भावना छ ।
दलहरुबीच सहमति भए आज नामको विषयले औपचारिक रुपमा प्रवेश पाउने उनले बताए । ‘दलहरुबीच अनौपचारिक छलफल चलिरहेको छ, आज दिउँसो संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक छ,’ उनले भने, ‘बैठकमा सहमति भए आजै नामको विषय टेबल हुन्छ ।’
उनका अनुसार प्रदेशमा दलका नेताहरु दुई सातायता अनौपचारिक छलफलमा छन् । छलफलबाट चाँडै नाम टुङ्गो लगाउने सहमति भएको उनले बताए ।
नाम टुङ्गो लगाउने विषयमा दलहरु एक मत भएपनि के नाम प्रस्ताव गर्ने भन्ने मतभेद छ । दलहरुबीच कोसी र किराँत नाममा छलफल केन्द्रित छ ।
राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समीकरण बनेपछि मुख्यमन्त्री हिक्मत कार्कीले आफ्नै नेतृत्वमा नामको टङ्गो लगाउन गृहकार्य गरेका हुन् । यसअघि प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री कार्कीसँग बालुवाटारमा भएको भेटमा प्रदेश १ को नाम राख्न ढिलाइ भएकोमा चासो राखेका थिए ।
६ वटा प्रदेशले आफ्नो नाम राखिसकेका छन् । तर प्रदेश १ ले मात्र नाम राख्न सकेको छैन ।