२०८३ बैशाख १९ गते , शनिबार

बिर्तामोडद्वारा कृषि औजार वितरण

sajilo news
परिवेश मिडिया
२०७९ फाल्गुन ७ गते , आईतबार
बिर्तामोडद्वारा कृषि औजार वितरण

बिर्तामोड नगरपालिकाले कृषि औजार तथा सामाग्री वितरण गरेको छ । आज आइतबार नगरपालिकामा आयोजित एक कार्यक्रमकाबिच लागत सहभागितामा विभिन्न ११ प्रकारका सामाग्री वितरण गरेको हो ।
कृषि शाखाले आयोजना गरेको कार्यक्रममा नगरका सबै वडामा रहेका तरकारी पकेट कार्यक्रम अन्तर्गत रहेका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार तथा सामाग्री वितरण गरिएको हो ।
नगरपालिकाले मिनि ट्रेलर ९ थान, ड्रिल मेशिन ३ थान, ड्यांग बनाउने मेशिन १ थान, उकेर लगाउने मेशिन १ थान, हर्वना ४५ थान, स्प्रे ट्यांकी ४५ थान, मल्चिन ३७ थान, टनेल ४० थान, हलो ५० थान, झार गोड्ने काँटा ६० थान र विभिन्न प्रकारका तरकारीको विउविजन वितरण गरेको हो । जम्मा २१ लाख १० हजार ९ सय रुपैयाँको सामाग्री वितरण गरिएको कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले जानकारी दिए ।
उक्त सामाग्री नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले अनुदानमा दिएका सामाग्रीहरुको सहि सदुपयोग गर्नु पर्ने बताइन । बिर्तामोड नगरपालिकामा जनघनत्व बढ्दै गएको र कृषि क्षेत्र साँघुरिदै गएको भन्दै उनले खाली रहेका जग्गा जमिनहरु बाँझो नराख्न पनि आग्रह गरिन ।  यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले अर्गानिक तरकारी उत्पादनमा जोड दिए । भारतबाट आएको  विषादी हालिएका तरकारीले क्यान्सर लगायतका प्राणघातक रोग लाग्ने भएकाले यहीँ विषादीरहित तरकारी व्यवसायिकरुपमा उत्पादन गर्न कृषकहरुलाई आग्रह गरे ।
आर्थिक विकास समिति संयोजक संगिता सिवाको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी खतिवडा, तरकारी उत्पादन तथा व्यवस्थापन समितिका अध्यक्ष माधव सिटौला लगायतको सहभागिता रहेको थियो । 

सम्बन्धित समाचार