भद्रपुर झापा गोल्ड कप आजबाट शुरु हुँदै
भद्रपुर । भद्रपुरस्थित मेची रंगशालामा आजदेखि भद्रपुर झापा गोल्डकप शुरु हुँदैछ । गोल्डकपको आज दिउँसो १ बजे उपप्रधानमन्त्री एवं ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
गोल्डकपमा नेपाल , भारत तथा भुटानका गरी १० टिमको सहभागिता हुने गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । उनले गोल्डकपमा खेल व्यवस्थापन, पुरस्कार तथा सम्मान र खेलाडी व्यवस्थापनका लागि आवश्यक तयारी भइसकेको जानकारी दिए ।
समितिका बरिष्ठ उपाध्यक्ष आदित्य पराजुलीका अनुसार आयोजक टिम भद्रपुर ब्लेजर्सका लागि भद्रपुरका ख्यातिप्राप्त खेलाडीसहित नेपाल तथा क्यामरुनका ख्यातिप्राप्त ए डिभिजनका खेलाडी सहभागी हुने छन् ।
यस्तै नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी, संकटा, मनाङमर्स्याङ्दीलगायतका नेपालका ख्यातिप्राप्त ए डिभिजन टिमको सहभागितामा रोचक प्रतिष्पर्धाका साथ प्रतियोगिता सम्पन्न हुने छ ।
गोल्डकप सचिवालयका सदस्य हिमाल खरेलका अनुसार प्रथम पुरस्कार १३ लाख र द्वितीय पुरस्कार ७ लाख राशिको रहेको छ । गोल्डकपलाई निरन्तरता दिन विधिवत संस्था दर्ता गरिएको छ भने भद्रपुर झापा गोल्डकपको आजीवन सदस्य बनाउँदै लगिएको छ ।
मेची रंगशाला हुने गोल्डकपको लागि खेलमैदानलाई खेल्न योग्य बनाउने काम पूरा भएको छ । आयोजक समितिले नेपाल तथा भारतका समेत खेलपे्रमी दर्शकलाई मध्यनजर गर्दै यातायात तथा सुरक्षा व्यवस्था मिलाएको जनाएको छ ।
गोल्डकपमा जेष्ठ नागरिक र अपाङ्गता भएकालाई निःशुल्क हेर्न दिने व्यवस्था मिलाइएको छ भने भद्रपुर नगरपालिका भित्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई समेत आलोपालो खेल हेर्न दिइने छ ।
गोल्डकप समितिका अध्यक्ष दिपेश ढकालले दिएको जानकारी अनुसार रंगशालामा २० हजार दर्शकले एकैचोटी खेल हेर्ने गरी स्थायी र अस्थायी प्यारापिट तयार पारिएको छ । खेल हेर्न १५० रूपैयाँको टिकट भए पनि १४० रूपैयाँ बराबरको जुस टिकट खरिदकर्ताले पाउने छन् भने हरेक दिन २४ इन्चको टिभी, सौर्य एयरलाइन्सको काठमाण्डौ भद्रपुरका लागि ३ वटा टिकट र ५ जनाले होटलमा खाना निःशुल्क पाउने गरी लक्की ड्रको व्यवस्थासमेत गरिएको अध्यक्ष ढकालले जानकारी दिएका छन् ।