बिर्तामोडमा सभामुख घिमिरे र उपसभामुख रानालाई सम्मान
बिर्तामोड । बिर्तामोड नगरपालिकाले प्रतिनिधीसभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई सम्मान गरेको छ । पालिकाले विहिबार आयोजित एक कार्यक्रमकाबीच नगरपालिकाले घिमिरे र रानालाई सम्मान गरेको हो ।
झापा क्षेत्र नम्बर २ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधीसभामा निर्वाचित घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक सांसद निर्वाचित राना मगर सभामुख र उपसभामुखमा निर्वाचित भएपछि उनीहरुलाई सम्मान, बधाई तथा शुभकामना दिइएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले उनीहरुलाई सम्मान पत्र प्रदान गरेकी थिइन् ।
बिर्तामोड नगरपालिकासँगै नेपाल पत्रकार महासंघ झापा शाखालेपनि उनीहरुलाई सम्मान गरेको छ । महासंघ अध्यक्ष एकराज गिरी नेतृत्वको टोलीले सभामुख घिमिरे तथा उपसभामुख मगरलाई बधाई तथा शुभकामना–पत्र प्रदान गरेको थियो ।
कार्यक्रममा महासंघ प्रदेश समिति सदस्य सुरेन्द्र भण्डारी, लीलाराज झापाली, झापा शाखाका उपाध्यक्ष केशव भट्टराई, सहसचिव अर्जुन राजवंशी, कार्यसमिति सदस्यहरु विनोद पाण्डे, अच्युत सुवेदी, रञ्जित परियार, सन्तोष शर्मा लगायत उल्लेख्य संख्यामा सञ्चारकर्मीको सहभागिता थियो ।
त्यस्तै अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईसहितको टोलीले समेत सभामुख तथा उपसभामुखलाई बधाई तथा शुभकामना–पत्र प्रदान गरेको थियो । कार्यक्रममा जनप्रतिनिधि तथा विभिन्न संस्थाका प्रतिनिधिले सभामुख, उपसभामुखलाई खाना, माला पहियर्याएर बधाई एवम् शुभकामना ज्ञापन गरेका थिए ।
कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी र प्रदेशसभा सदस्य एकराज कार्कीले उनीहरुलाई शुभकामना दिएका थिए ।