आत्महत्या दुरुत्साहनको आरोपमा शिक्षक पक्राउ
बिर्तामोड । झापाको गौरीगञ्जबाट प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । आत्महत्या दुरुत्साहन गरेको आरोपमा प्रहरीले गौरीगञ्ज माध्यमिक विद्यालयका शिक्षक पवनकुमार दासलाई पक्राउ गरेको हो ।
दासमाथि कक्षा ११ मा अध्ययनरत गौरीगञ्ज गाउँपालिका–३ की १७ वर्षीया सोनी राजवंशीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप छ । प्रहरीले बुधबार उनलाई नियन्त्रणमा लिएको हो । उनी उक्त विद्यालयका अनुशासन विभाग प्रमुख समेत हुन् ।
मंगलबार अनुशासन उल्लंघन गरेको भन्दै उनले सोनीलाई कुटपिट गरेको खुलेको छ । सोनी सोही साँझ घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
शिक्षकको कुटपिटकै कारण मानसिक तनावमा रहेकी उनले आत्महत्याको बाटो रोजेको परिवारको आरोप छ । सोनीका आफन्त र विद्यार्थीले बुधबार शिक्षक दासको घरमा तोडफोड गरेका थिए ।
आत्महत्या दुरुत्साहन गर्ने शिक्षक दासलाई कारबाहीको माग गर्दै सोनीको परिवारले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा लिखित जाहेरी दिएको छ । जाहेरीका आधारमा शिक्षक दासलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।