२०८३ बैशाख १९ गते , शनिबार
एउटै रुखमा झुण्डिएको अवस्थामा युवायुवतीको शव फेला
कचनकवल । झापाको कचनकवल गाउँपालिकामा झुण्डिएको अवस्थामा युवायुवतीको शव फेला परेको छ । मंगलबार विहान कचनकवल गाउँपालिका वडा नम्बर ४ मा रहेको एभरेष्ट चिया बगानमा रहेको सिरिसको रुखमा उनीहरु एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
स्थानीय २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशी झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । माछा मार्ने नाइनलको जालको डोरीमा उनीहरु झुण्डिएको बताइएको छ ।
उनीहरु आपसमा विवाह गर्न चाहेको तर केटीको उमेर कम भएको भन्दै परिवारले विवाह गर्न रोक लगाएपछि आत्महत्या गरेको हुनसक्ने स्थानीयहरु बताउँछन् । घटना हेर्दा शंकास्पद जस्तो नदेखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको उनको भनाइ छ ।