२०८३ बैशाख १९ गते , शनिबार

सन्दीप लामिछाने धरौटीमा रिहा

प्रदेश छाड्न र संचारमाध्यममा बोल्न रोक

sajilo news
परिवेश मिडिया
२०७९ पौष २८ गते , विहीबार
सन्दीप लामिछाने धरौटीमा रिहा

काठमाडौं । उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश उल्टाइदिएको छ ।
इजलासले सन्दीपलाई तारिखमा छाड्न आदेश दिएको छ । अदालतका सूचना अधिकारी दिनेश पौडेलले २० लाख धरौटीमा रिहा गर्न आदेश भएको जानकारी दिए । अरू पूर्वसर्तहरू पनि रहेको उनको भनाइ छ । 
न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले बिहीबारको बहसपछि जिल्ला अदालतको आदेश बेरितको रहेको भन्दै उल्ट्याएको हो । 
सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, कृष्ण सापकोटा र अधिवक्ताहरू सरोजकृष्ण घिमिरे, रोशनी पौडेल, मुरारी सापकोटा र सविता भण्डारीले बहस गरेका थिए । त्यस्तै जाहरेवालाको तर्फबाट तीनजना कानुन व्यवसायी र सरकारको पक्षबाट एक जना सरकारी वकिलेले बहस गरेका हुन् । 
दुवै पक्षको बहसपछि इजलासले जिल्ला अदालतको आदेश बेरितको रहेको भन्दै सो आदेश उल्ट्याएको हो । यससँगै सन्दीपलाई पुर्पक्षका लागि धरौटी लिई तारिखमा छाडेको छ ।
बलात्कारको आरोपमा सन्दीपलाई असोज २० गते विदेशबाट फर्किने क्रममा विमानस्थलबाटै पक्राउ गरिएको थियो ।
दोहाबाट कतार एयरवेजको विमानमार्फत काठमाडौं ओर्लिएका उनलाई पक्राउ गरिएको थियो ।
सन्दीपलाई भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगमाथि बलात्कार गरेको आरोप लागेपछि पक्राउ गरिएको थियो ।
काठमाडौंको होटल इनमा भदौ ५ गते राति आफूलाई पटक पटक बलात्कार गरेको एक किशोरीको उजुरीपछि विदेशमा रहेका सन्दीपलाई पक्राउ गर्नको लागि ‘डिफ्युजन नोटिस’ जारी गरिएको थियो ।
क्यारेबियन प्रिमियर लिग खेल्न जमैका पुगेका सन्दीपविरुद्ध काठमाडौंमा उजुरी परेको थियो । प्रहरीले प्रमाणका रुपमा होटलको सीसीटीभी फुटेज, पीडितको बयान, स्वास्थ्य परीक्षण, होटलका कर्मचारीको बयानलाई पनि समेटेको थियो ।
सन्दीपले यसअघि काठमाडौं जिल्ला अदालतमा दिएको बयानमा आफूलाई सिलसिलारुपमा फसाउन खोजिएको बताएका थिए ।
सन्दीप पक्राउ पर्दा नेपाली क्रिकेट टिमका क्याप्टेन थिए ।
प्रदेश छाड्न संचारमाध्यममा बोल्न रोक
सन्दीपले प्रदेश छाड्न पनि अनुमति लिनुपर्ने भएको छ । साथै उनलाई अहिलेको मुद्दाको विषयमा सञ्चार माध्यममा बोल्न पनि रोक लगाइएको छ । 
उनी अदालतबाट अर्को फैसला नभएसम्म विदेश जान पनि पाउने छैनन् ।

सम्बन्धित समाचार