बिना दर्ताको मोबाइल पुस १५ पछि नचल्ने
बिदेशबाट ल्याएको मोबाइल अनिवार्य दर्ता गर्नु पर्ने
काठमाण्डौ । तपाईं विदेशबाट फर्किंदा साथीभाइ र आफन्तका लागि उपहार स्वरुप मोबाइल ल्याउँदै हुनुहुन्छ ? आफूले प्रयोग गरिरहेको वा गर्न तयार राखेको एउटाबाहेक अर्को मोबाइल ल्याउँदै हुनुहन्छ भने १५ पुसदेखि तपाईंले भन्सार तिरेर मात्रै विमानस्थल भन्सार जाँचपास गर्न पाउनुहुनेछ । अझ २ भन्दा बढी मोबाइल ल्याउनु भयो भने त जफत नै हुनेछ ।
कसैगरी छलेर मोबाइल भित्र्याउनु भयो भने पनि तपाईंको मोबाइलमा सिम हालेको १५ दिनपछि त्यसबाट फोन/म्यासेज गर्न मिल्ने छैन । १५ पुस अर्थात् आगामी शुक्रबारदेखि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) लागु हुने भएकाले विमानस्थलको भन्सार जाँचपासमा कडाइ गरिंदैछ ।
विमानस्थल भन्सार कार्यालयहरूले अहिलेसम्म विदेशबाट फर्किनेले प्रयोग गरिरहेको बाहेक अतिरिक्त एउटा मोबाइल सजिलै ल्याउन दिइरहेका छन् । तर, आगामी शुक्रबारदेखि भने विदेशबाट फर्किने यात्रुले विमानस्थलको भन्सार बिन्दुमा प्रयोग गरिहरेको मोबाइल ‘आफ्नो प्रयोगका लागि हो’ भन्ने घोषणा गर्नुपर्ने त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेल बताउँछन् । त्यसका आधारमा भन्सारले विदेशबाट झिटिगुन्टा सुविधामा आाएको मोबाइल हो’ भन्ने प्रमाणित गरेर कुनै शुल्क नलिई प्रज्ञापनपत्र दिने छ । यो प्रक्रियाका लागि अब भन्सार विन्दुमा पनि लाइन बस्नुपर्नेछ । दैनिक ५ सयभन्दा बढी मोबाइलको प्रज्ञापनपत्र जारी गर्नुपर्ने अनुमान गरिएको पोखरलले बताए । यसरी जारी हुने प्रज्ञापनपत्रका आधारमा नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएसमा दर्ता गरेर मात्रै सो मोबाइल चलाउन सकिने छ ।
तर, यात्रुसँग दोस्रो मोबाइल छ भने किनेको बिल देखाएर तोकिएको दरमा भन्सार राजस्व बुझाउनुपर्नेछ । भन्सार राजस्व तिरेपछि मात्रै सो मोबाइलको प्रज्ञापनपत्र लिन पाइनेछ । सो प्रज्ञापनपत्र नलिएमा उक्त मोबाइल नेपालमा चल्ने गरी दर्ता गर्न नै पाइनेछैन ।
तेस्रोसहित अन्य मोबाइलको हकमा भने सिधै जफत हुने प्रावधान छ । यसले विदेशबाट उपहारस्वरुप मोबाइल ल्याएमा भन्सार तिर्नैपर्ने अवस्था बन्ने भएको छ ।