क्रिसमस डे को अवसरमा आज सार्वजनिक बिदा, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना ब्यक्त
बिर्तामोड । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । क्रिसमसको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा घोषणा गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले क्रिसमस डे, २०२२ को अवसरमा शुभकामना सन्देश जारी गरेकी छन् । उनले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे‘ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको लागि हार्दिक शुभकामना व्यक्त गरेकी हुन् ।
त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
उनले शुभकामना सन्देशमार्फत चाडपर्वलाई आफ्नो संस्कार र संस्कृतिको अभिव्यक्तिका रूपमा उत्साहपूर्वक मनाउँदा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूका बीच आपसी भाइचारा, सौहार्दता र राष्ट्रिय एकताको अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले संसारभर नै मानव समुदायले आफ्ना देवता र धर्म प्रवर्तकजस्ता महान् व्यक्तित्वहरूको जन्मदिनलाई व्यापक उत्साह र सद्भावका साथ मनाउने उल्लेख गर्दै डिसेम्बर २५ का दिन इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट अर्थात् प्रभु येशुको जन्मदिनलाई क्रिसमसका रूपमा विविध कार्यक्रमका साथ मनाउने प्रचलन रहेको जनाएका छन् ।