सिरियल किलर शोभराजलाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाण्डौ । सर्वोच्च अदालतले विकिनी किलरका रुपमा कुख्यात चाल्र्स शोभराज गुरुमुखलाई रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई छाड्न आदेश दिएको हो ।
‘थुनामा बसेका कैदीबाट आफूलाई तोकिएको अवधिभन्दा बढी कैद राखिएकाले कैदमुक्त हुन पाउँ भनी निवेदन पेश भएको रहेछ,’ सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले अनलाइनखबरसँग भने, ‘इजलासले सुनुवाइपछि निवेदनको माग जायज ठर्हयाएर थुनामुक्त गर्नु भनी आदेश जारी गरेको हो ।’
शोभराजले आफ्ना कानून व्यवसायीमार्फत पटकपटक सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिइरहेका थिए । त्यसमा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकले पाउनुपर्ने कैद छुटेको सुविधाको दिन माग गर्ने गरेका थिए ।
शोभराजलाई जिल्ला अदालत भक्तपुरले २८ मंसिर २०३२ मा भएको अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र त्यसको तीन दिनपछि भएको क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
शोभराजलाई जिल्ला अदालत भत्तपुरले २०६० असोज २ गतेदेखि २०८० असोज १ गतेसम्म कैद तोकिएको थियो ।
अदालतले निज शोभराजले ९५ प्रतिशत कैद भुक्तान गरिसकेको, मुटु लगायत विभिन्न रोगविरुद्ध पाँच वटा औषधि सेवन गरिराखेको र लामो समयदेखि गोलघरमा नै राखिराखेको आदि कारण देखाउँदै रिहा गरि १५ दिनभित्र स्वदेश पठाउने व्यवस्था गर्ने आदेश दिएको छ ।