झापाका मेनपावरका गतिविधि शंकास्पद रहेको भन्दै अनुगमन गर्न निर्देशन
बिर्तामोड । बैदेशिक रोजागारमा संलग्न महिलाको सुरक्षित, मर्यादित र सेवाको सुनिश्चितताका लागि सरोकारवालासँगको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम झापाको भद्रपुरमा सम्पन्न भएको छ । राष्ट्रिय महिला आयोगको आयोजनामा सोमबार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा झापामा सञ्चालनमा रहेका मेनपावर कम्पनीको गतिविधि शंकास्पद भएको भन्दै राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेलले सुक्ष्म रूपमा अध्ययन गरेर विवरण तयार पार्न झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल तथा श्रम कार्यालय प्रमुखलाई निर्देशन दिएकी छिन् ।
कार्यक्रममा झापामा कानुनी रूपमा सञ्चालनमा रहेका भनिएका १० वटा मेनपावर कम्पनीलाई जवाफदेही बनाएर श्रम तथा रोजगार कार्यालयले बोलाएको भए पनि कुनै पनि मेनपावरका सञ्चालक नआएपछि विरोध भएको थियो ।
कार्यक्रममा सहभागी पीडित महिलाहरूले वैदेशिक रोजगारीमा गएर ठगिनु पर्दाको पीडा सुनाउँदै ठगलाई कारवाही नभएकोमा आपत्ति जनाएका थिए । उनीहरूले श्रम तथा रोजगार विभागकै कर्मचारीका कारण न्याय पाउन नसकेको भन्दै मेनपावर कम्पनीका अवैध काम रोक्न माग समेत गरेका छन् ।
सदस्य पौडेलले राजनीतिक दलभित्र देश र नागरिकप्रति जवाफदेहिता नरहेकै कारण स्वदेश छोडेर विदेश जान बाध्य नेपाली युवायुवती दलाल र ठगको पञ्जामा परेको भन्दै सचेत रहन सबैलाई अनुरोध समेत गरेकी छिन् ।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी रिजालले वैदेशिक रोजगारी दिगो समाधान नभए पनि तत्कालको बेरोजगारी समस्या हल गर्न सफल भएकाले मर्यादित बनाउन कानुनी बाटो रोज्ने वातावरण आवश्यक रहेको बताएका थिए ।
कार्यक्रम राष्ट्रिय महिला आयोगकी सदस्य पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्काको प्रमुख आतिथ्यमा भएको थियो ।