कालिस्थानमा विराट महायज्ञको समुद्घाटन सम्पन्न
बिर्तामोड । कालिकापीठ कालीस्थानको १८ औं बार्षिक अनुष्ठान अन्तरगत आयोजित श्रीमद् स्कन्ध महापुराण, महारुद्रीसहित विराट महायज्ञको समुद्घाटन सम्पन्न भएको छ ।
नेपालका ऐतिहासिक प्रथम जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजको करकमलबाट पीठमा आयोजित एक समारोहका बीच महायज्ञको समुद्घाटन गरिएको हो ।
कार्यक्रम समुद्घाटन समारोहमा बोल्दै जगतगुरु बालसन्त मोहनशरणले स्कन्ध महापुराणमा हिमवत्खण्डको विसद महिमा रहेको उल्लेख गर्दै शिवपुत्र स्वामी कार्तिकेय (कुमार) ले ब्याख्या एवं प्रचार–प्रसार गरेकाले पुराणको नाम स्कन्ध पुराण रहेको बताए ।
पुराणमा कर्णालीपश्चिम, कर्णाली पूर्वदेखि कौशिकीसम्म, मानसरोबर, एवं कोशीपूर्वदेखि कास्मिरसम्मका हिमवतखण्डको चर्चा रहेको बताए । स्कन्ध पुराणका ब्याख्याता, लेखक एवं प्रकाशकहरुले पनि उक्त पुराणमा नेपालका हिमवत खण्डको चर्चा बढी रहेको स्वीकार गरेको उनको भनाइ थियो ।
कार्यक्रमका विशिष्ट अतिथि एवं झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले धार्मिक क्षेत्रको योगदानको मूल्याङ्कन नगरिएपनि धार्मिक÷सांस्कृतिक एवं संस्कृत शिक्षाबाट राष्ट्रका लागि थुप्रै उपलब्धी भएको धारणा राखे ।
कार्यक्रमका विशिष्ट अतिथि एवं नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डेले कानूनले मानिसलाई अनुशासनमा बाँध्न नसक्ने तर धर्म÷संस्कार र संस्कृतिले मानिस अनुशासित र सभ्य हुने एवं हिंसामुक्त समाज स्थापित हुने धारणा राखे ।
मानिस ५० बर्ष काटेपछि सत्मार्गको बाटो धर्म नै रहेछ भनेर धार्मिक बाटोमा लाग्ने गरेको बताउँदै पाण्डेले धार्मिक जागरणले उमेर छँदै सत्मार्गमा लाग्न प्रेरित गर्ने धारणा व्यक्त गरे ।
कार्यक्रमका विशेष अतिथि एवं अर्जुनधाराका मेयर बलदेवसिंह गोम्देनले धर्मÞ–संस्कार र संस्कृतिले मानिसलाई अनुशासित बनाउने र अनुशासनले नै सफलतातर्फ डोर्याउने बताए । धर्मप्रति आस्था र विश्वास गर्ने ब्यक्तिले नकारात्मक कार्य नगर्ने उनको धारणा थियो ।
कार्यक्रममा सम्मानित ब्यक्तिहरुमध्येबाट उद्योगपति विकासकुमार दुगढले धर्म, संस्कार र संस्कृति मानव जीवनका लागि अपरिहार्य भएको बताउँदै वैदिक एवं संस्कृत शिक्षाको उन्नतिका लागि पीठको विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।