बीएण्डबी अस्पतालले पत्रकार र आश्रित परिवारलाई उपचारमा छुट दिने
ललितपुर । ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालले देशभरका पत्रकार र परिवारलाई उपचारमा छुट दिने भएको छ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा बीएण्डबी हस्पिटलले पत्रकारलाई छुट दिने भएको हो ।
शुक्रबार पत्रकार महासंघ ललितपुर शाखा र अस्पताल व्यवस्थापनबीच छुट दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा पत्रकार महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपाने र बीएण्डबी अस्पतालका कार्यकारी निर्देशक डा. निरजलाल वैद्यले हस्ताक्षर गरेका हुन् ।देशभरका सबै पत्रकालाई उपचार तथा औषधीमा १५ प्रतिशत छुट दिने सम्झौता अस्पतालले गरेको छ । यसमा ओपीडी परीक्षणदेखि आकस्मिक उपचार, शल्यक्रियासम्म पर्ने कार्यकारी निर्देशक वैद्यले जानकारी दिए ।
पत्रकारलाई मात्रै नभएर आश्रित परिवारलाई पनि छुट सुविधा लागू हुने सम्झौतामा उल्लेख छ । आश्रित परिवारका रुपमा आमा, बुबा, श्रीमान, श्रीमती र २ जना छोराछोरी गरी ६ जनाको उपचारमा छुट हुनेछ ।
भट्टराईका अनुसार केही निश्चित उपचारमा भने यो लागू हुने छैन । पीसीआर परीक्षण, अस्पतालले छुट दिएर सञ्चालन गरिरहेका परीक्षण प्याकेजहरु, परीक्षणका लागि विदेशमा पठाउनु पर्ने भएमा, अप्रेसनका लागि प्रयोग हुने सामग्री आदिमा १५ प्रतिशत छुटको नियम लागू हुँदैन ।
देशभर रहेका पत्रकार महासंघ सबै सदस्यले यो सुविधा पाउने पत्रकार महासंघ ललितपुरका सचिव रामहरि कार्कीले जानकारी दिए । राज्यको चौथो अंगको उपमा पाएका पत्रकारहरुसँग सहकार्य गर्न पाउँदा खुसी लागेको प्रमुख प्रशासक प्रकाश भट्टराईले बताए ।
सम्झौतामा उल्लेख नभएपनि कुनै विशेष परिस्थिति आएमा उपचारमा थप सहुलियत दिने प्रतिवद्धता भट्टराईले जनाए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेल, अग्रज पत्रकार प्रभु नारायण बस्नेत, पत्रकार महासंघ उपत्यका प्रदेशका सदस्य माधव प्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो ।