लिङ्देनद्वारा हल्दिबारीका तीन वटा पुल शिलन्यास
बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा झापा ३ बाट भर्खरै निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले आज (वुधवार) तीनवटा पुलको शिलान्यास गरेका छन । लिङ्देनले हल्दीवारी गाउँपालिकामा निर्माण हुन लागेको ३ वटा पक्की पुलको शिलान्यास गरेका हुन ।
४ करोड ६७ लाख ९४ हजार ८ सय ७८ रुपैयाँमा ३ वटा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको सारा सृष्टि निर्माण सेवा प्रा.लि. ले २०८१ मंसिर ५ गते निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
वडा नं. १ र ५ जोड्ने भुतेनी खोलामा ४२.७ मिटर लम्बाइको, त्यसैगरी वडा नं. ३ को भुसुडी खोलामा २६.८ मिटर लम्बाइको र भुसुडी खोलाकै अर्को स्थानमा २६.८ मिटर लम्बाईको पुल निर्माण हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।
गाउँपालिका क्षेत्र भित्रका अन्तिम ३ वटा काठका पुल विस्तापित गर्दै पक्की पुल निर्माणका लागि ठेक्का लगाइसकेको बताउँदै समयसीमा भित्र निर्माण सम्पन्न हुने कुरामा ढुक्क हुन पालिका अध्यक्ष रविन्द्र लिङ्देनले आश्वासन दिएका छन ।
कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं. ३ (ख) का नव निर्वाचित प्रदेशसभा सदस्य छवि चुडालको समेत उपस्थिती रहेको थियो ।