साउदी अरेबियाद्वारा अर्जेन्टिना पराजित
बिर्तामोड । दुई पटकको फिफा विश्वकप च्याम्पियन अर्जेन्टिना शुरुवाती खेलमै साउदी अरेबियासँग पराजित भएको छ । अर्जेन्टिनालाई साउदी अरेबियाले २–१ गोल अन्तरले पराजित गरेको हो ।
मंगलबार भएको समूह ‘सी’ को खेलमा अर्जेन्टिनालाई एसियन टिम साउदी अरेबियाले पराजित गर्यो ।
खेलको दशौं मिनेटमा अर्जेन्टिनाले लिएको अग्रता उल्टाउँदै साउदी अरेबियाले उत्कृष्ट जित निकालेको हो ।
कप्तान लिओनल मेसीले प्राप्त पेनाल्टीमा सहज गोल गरेका थिए । मेसीले चार विश्वकपमा गोल गर्ने अर्जेन्टाइन खेलाडीको रेकर्ड बनाएको खेलमा उनको टिम पहिलो हाफमा १–० गोलले अघि थियो ।
पहिलो हाफमा अर्जेन्टिनाले तीन पटक बललाई जाली चुमाए पनि रेफ्रीले अफसाइड घोषित गरेका थिए ।
साउदी अरेबियाले दोस्रो हाफको पाँच मिनेटको अन्तरमा दुई गोल र्गयो ।
खेलको ४८ मिनेटमा सलेह अलशेरीले बराबरी गोल फर्काए । ५३ मिनेटमा सलेम अलडावसरीले डिबक्स बाहिरबाट सेकेन्ड बार च्याप्दै उत्कृष्ट गोल गर्दै साउदीलाई २–१ ले अघि बढाएका थिए ।
फिफा वरीयतामा ५१औं स्थानमा रहेको साउदीले तेस्रो वरीयताको अर्जेन्टिनालाई हराउने क्रममा दोस्रो हाफमा उत्कृष्ट खेलेको थियो ।
पहिलो खेलमै पराजित भएपछि सन् १९८६ पछि पहिलो विश्वकपको उपाधिको खोजीमा रहेको अर्जेन्टिना दबाबमा परेको छ ।
साउदीले अर्जेन्टिनालाई हराएसँगै विश्वकप इतिहासमा एक चर्चित जित निकाल्न सफल भएको छ ।