१५औँ नेशनल लेडी एकेडेमी बिर्तामोडमा हुने
बिर्तामोड । नेपाल जेसीजको आयोजनामा हुन लागेको १५ औैं नेशनल लेडी एकाडेमी झापाको बिर्तामोडमा हुने भएको छ । एकेडेमीको आतिथ्यता वीरता लेडी जेसीजले गर्न लागेको हो ।
मंसिर ९ र १० गते बिर्तामोडस्थित होटल सिद्धार्थ ग्राण्ड सिटीमा एकेडेमी हुन लागेको बिर्ता लेडी जेसीजले जनाएको छ । लेडी जेसीजले आज पत्रकार भेटघाट कार्यक्रम गरि सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
व्यक्तित्व विकास, नेतृत्व विकास, व्यवसायिक सञ्जाल विस्तार, महिला सशक्तीकरण र आपसी सम्बन्ध र सदभाव विकास सम्बन्धी तालिम दिइने एकेडेमीमा नेपाल जेसीजका पूर्व अध्यक्ष भोलेश्वर दुलाल र उषा मल्ल सिंहले प्रशिक्षण दिने आतिथ्य शाखा वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाले बताइन ।
उद्घाटन कार्यक्रममा राष्ट्रियसभा सदस्य माननीय गोपाल कुमार बस्नेतको प्रमुख आतिथ्यता रहने एकेडेमी डाइरेक्टर कञ्चना सिटौलाले जानकारी दिएकी छन् ।
देश भरीका १७४ वटा जेसीज शाखा मध्येबाट ७० जना भन्दा धेरै महिला जेसीहरुको सहभागिता रहने बिर्ता लेडी जेसीज २०२२ कि निवर्तमान अध्यक्ष स्वष्तिका आचार्यले जानकारी दिइन ।
पूर्वको बाहुण्डाँगीदेखि पश्चिमको महेन्द्रनगरबाट सहभागीहरू आउने बिर्ता लेडी जेसीजकी महासचिव युनिता दवाडीले बताइन । बिर्ता लेडी जेसीजको उत्कृष्ट कार्यको आधारमा १५औँ नेशनल एकेडेमीको आतिथ्यता दिइएको बताइएको छ ।
देशभरीमा जेसीजको १९ वटा लेडी शाखाहरु रहेको छ । हाल नेपाल जेसीजको विभिन्न शाखामा अध्यक्षको जिम्मेवारी ३५ जना महिलाहरूले सम्हालीरहेका छन् ।
जेसीज एक अन्तराष्ट्रिय संस्था हो । जेसीजले मूल चार वटा क्षेत्रलाई प्राथमिकतामा राखेर आफ्नो गतिविधि गर्दै आएको छ । जसमा व्यक्तिगत विकास, सामाजिक, व्यवसायिक र अन्तर्राष्ट्रिय रहेको छ ।