फिफा विश्वकप २०२२ कतारको अल बायेट रंगशालामा उद्घाटन
काठमाडौं । फिफा विश्वकप २०२२ आइतबार साँझ कतारमा उद्घाटन भइरहेको छ । स्थानीय समय अनुसार साँझ ५ बजे (नेपाली समयानुसार पौने ८ बजे) कतारको अल खोरस्थित अल बायेट रंगशालामा हुँदैछ ।
उद्घाटन समारोहमा आयोजक देशको विरासत र संस्कृति दर्शाउने सांस्कृतिक कार्यक्रमका साथै विश्वका प्रमुख गायक तथा कलाकारको प्रस्तुति विश्वकप उदघाटन समारोहको एक प्रमुख विशेषता रहँदै आएको छ । कतारले पनि यस्तै कार्यक्रमका साथ विश्वकपको सुरुवात अहिलेसम्मकै भव्य बनाउने अपेक्षा छ ।
जहाँ फिफा विश्वकपको उदघाटन खेलमा घरेलु टोली कतार र इक्वेडर आमनेसामने हुनुअघि एक भव्य उदघाटन समारोह आयोजित हुनेछ । कतार र इक्वेडरबीचको उदघाटन खेल कतारी समयअनुसार साँझ ७ बजे (नेपाली समयअनुसार राती पौने १० बजे) देखि सुरु हुनेछ ।
पहिलोपल्ट एसियाको मध्यपूर्वमा हुन लागेको ऐतिहासिक फिफा विश्वकपको उद्घाटन समारोहमा ३० मिनेटको विशेष कार्यक्रममा थुप्रै ‘सरप्राइज्ड’ हुनेछ । जंगकुकले कतारी गायक फहद अल कुबैसीसँग मिलेर फिफाको आधिकारिक गीत ‘ड्रिमर्स’को प्रस्तुति दिनेछन् ।
कतारले यो विश्वकपको उद्घाटन कार्यक्रमको विषय सम्पूर्ण मानव जगतको मिलनः मानवता, सम्मान र समावेशीतामार्फत भिन्नता न्यूनीकरण हो । ‘कार्यक्रमको सात–कार्यको नेतृत्व विश्वस्तरका प्रतिभाले गर्नेछन् । विश्वव्यापी संस्कृतिका साथ कतारी परम्परा जोडेर सहभागी ३२ देशलाई सम्मान गरिनेछ,’ फिफाले भनेको छ ।
फिफा विश्वकपको उद्घाटन कार्यक्रम नेपालमा हिमालय टेलिभिजन र हिमालय प्रिमियम टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ । विश्वकपको उद्घाटन हेर्न दर्शकले शुल्क तिर्नु पर्दैन । सोमबारदेखि सुरु हुने खेलका लागि भने शुल्क तिर्नुपर्नेछ । करिव एक महिनासम्म चल्ने विश्वकपको प्रत्यक्ष प्रशारण नेपालमा हिमालय प्रिमियम एचडी टेलिभिजनले गर्नेछ ।