आज राष्ट्रिय विभूती फाल्गुनन्दको १३८औँ जयन्ती
बिर्तामोड । आज राष्ट्रिय विभूती फाल्गुनन्द लिङ्देनको १३८औँ जन्म जयन्ती मनाइँदैछ । यो अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । १९४२ सालमा जन्मिनु भएका फाल्गुनन्दलाई समाजसुधारक, सत्य वक्ता, गुरु तथा साधुको रुपमा लिइन्छ ।
दिव्य ज्ञान र सत्य वचनको माध्यमबाट समाज परिवर्तनमा फाल्गुनन्दको भूमिकाको कदर गर्दै सरकारले ०६६ साल मङ्सिर १६ गते फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । उहाँको सम्मान स्वरुप पाँचथर जिल्लामा गाउँपालिको नाम फाल्गुननन्द गाउँपालिका राखिएको छ । अनि झापा जिल्लाको शान्तिनगरमा उहाँको पूर्ण कदको प्रतिमा पनि स्थापित गरिएको छ ।
प्रेम र अहिंसाका अनुयायी तथा प्रतीकका रूपमा पनि चिनिने गुरु फाल्गुननन्दको तस्बिर प्रयोग गरेर नेपाल सरकारले हुलाक टिकट पनि जारी गरेको छ ।
नेपालमा मात्र होइन, भुटान र भारतमा फैलिएका किराँत समुदायले पनि आजको दिनलाई गौरवशाली दिनका रूपमा लिने गरेका छन् । फाल्गुननन्द जयन्तीको अवसरमा किराँत समुदायका अगुवाहरूले विभिन्न कार्यक्रम गरिरहेका हुन्छन् ।