विगत पाँच बर्षमा अर्जुनधारामा के गरे रानाले ?
बिर्तामोड । अर्जुनधारा नगरपालिकाका निवर्तमान प्रमुख हरिकुमार राना यतिबेला झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारको रुपमा चुनावी मैदानमा छन् । नेकपा एमालेमा तीन दशक सक्रिय रहेका राना पार्टी परित्याग गरि स्वतन्त्र उम्मेदवारको रुपमा लोकतान्त्रिक–बाम गठबन्धनमा आवद्ध भई गोलाकार भित्रको हँसिया हथौडा चुनाव चिन्ह लिएर मैदानमा आएसँगै उनको बिरुद्धमा विभिन्न टिकाटिप्पणीहरु आउन थालेका छन् । उनी पूर्व आवद्ध पार्टीका जिम्मेवार नेताहरुले नै उनी नगरप्रमुख हुँदा काम गर्न नसकेको आरोप लगाउन थालेपछि हामीले उनले आफ्नो कार्यकालमा के-कस्ता काम गरे भनेर खोजी गरेका छौँ ।
स्थलगत रिपोर्ट र अर्जुनधारा नगरपालिकाबाट प्राप्त विवरणलाई संक्षिप्त रुपमा यहाँ प्रस्तुत गरिएको छ :
सडक निर्माण
अर्जुनधारा नगरपालिकाको ११ वटा वडामा कालोपत्रे तथा स्तरोन्नती गरेर २०५ किलोमिटर सडक बनेका छन् । यसमा सयौँ योजना समेटिएका छन् ।
सयौँ मिटर सडकमा प्लम तथा नाला निर्माण भएका छन् ।
पुल तथा कल्भर्ट निर्माण
अर्जुनधारा नगरपालिकामा उक्त अवधिमा दहिझोडा खोला लगायत दर्जन हाराहारी स्थानमा पक्की पुल निर्माण भएको छ । एउटा योजना रोङ गाउँपालिकासँगको सहकार्यमा निर्माण भएको छ । त्यस्तै टाङ्टिङ्, गौमुखी–बिरान लगायत दर्जनबढी स्थानमा झोलुङ्गे पुल निर्माण भएका छन् । करिब आधा दर्जनको संख्यामा ट्रष्टको पुल निर्माण भएको छ ।
साना ठूला गरि करिब १०० कल्भर्ट निर्माण भएका छन् । सयौँको संख्यामा ह्युमपाइप विछ्याउने काम भएको छ ।
फुसको छानो फेर्ने तथा विपन्न आवास
फुसको ठाउँमा ११० वटा घरमा टिनको छानो फेरिएको छ । सहारा नेपाल तथा अन्य संघ संस्थाहरुसँगको सहकार्यमा करिब १०० विपन्न आवास निर्माण भएका छन् ।
जग्गा प्राप्ति तथा भवन निर्माण
विभिन्न कार्यालय निर्माण प्रयोजनका लागि १ विगाहा १ कठ्ठा ५ धुर जग्गा प्राप्ति भएर त्यसमा भवन निर्माण भएका छन् ।
नयाँ बजार विस्तारका लागि रवि पोद्धार र विनोद पोखरेलबाट १० कट्ठा ७ धुर जमिन अनुदान प्राप्त भएको र नयाँ बजार व्यवस्थापनका लागि वडा नं ८ मा नगरपालिकावाट १ विगाह ५ कट्ठा जग्गा खरिद भएको छ । रेडकस, समाज कल्याण तथा सब्जीमण्डी भवन निर्माण भएको छ ।
विद्युतीकरण
नगरका सबै वडामा दर्जनौँ ट्रान्सफर्मर जडान, पोल तथा तार विस्तार भएका छन् । कतिपय सडकमा सडक बत्तीसमेत जडान गरिएको छ ।
कृषि तथा पशुपंक्षी
विभिन्न कृषक समूहलाई मोटर वितरण गरिएको छ । किसानहरुलाई निशुल्क मलबिउ उपलब्ध गराइएको छ । कारितास नेपालसँगको सहकार्यमा सयौँ किसानहरुलाई कृषिसामाग्री वितरण गरिएको छ । कृषकहरुलाई मकै छोडाउने, रोप्ने, धान रोप्ने मेसिन, कुटी काट्ने च्याप्कटर मेसिन उपलब्ध गराइएको छ । किसानहरुलाई बाख्रा तथा बंगुर पाठा वितरण भएको छ । उनीहरुलाई हाते तथा मिनी ट्याक्टरसमेत वितरण गरिएको छ । बाह्रघरे क्षेत्रलाई मकै पकेट क्षेत्रको रुपमा घोषणा गरिएकोछ । तरकारी तथा जै घाँसको बिउ वितरण गरिएकोछ ।
करिब ८० हजार हाराहारी पशुको उपचार गरिएको छ । २० वटा बोयर जातको बोका वितरण गरिएको छ । २४ हजार पशुमा कृतिम गर्भाधान गरिएको छ । हजारौँ पशुका लागि नाम्ले तथा जुकाको औषधी वितरण गर्नुका साथै खोरेत र पीपी भ्याक्सिन वितरण गरिएको छ । वडा नम्बर २ मा पशु पकेट भवन निर्माणमा ७ लाख रुपैँया लगानी भएको छ ।
खानेपानी तथा सिँचाई
वडा नम्बर २ को साठीमुरे क्षेत्रमा २ लाखमा २ वटा पानीको कुवा मर्मतको कार्य भएको छ । बेल्टार खानेपानी मुहान निर्माण तथा मर्मतमा ३६ लाख, गाजाबारी राते खानेपानीमा ४ लाख ७६ हजार र लाप्चेटार ट्यांकीमा ५ लाख रुपैँया खर्च भएको छ । त्यस्तै वडा नम्बर ४ को खयरगाछी पैनीको मुहान संरक्षण, राजपैनी मुहान संरक्षण र टाङ्टिङ कालिखोलालगायतको मुहान संरक्षणको काम भएको छ ।
कुवेती फण्डबाट नहरमा ६ करोड ५० लाखको काम भएको छ । वडा नम्बर १ मा १७ लाख बराबरको विभिन्न पैनी मर्मत भएका छन् । कैयन स्थानमा इनार निर्माण तथा डिप बोरिङको काम भएको छ । दर्जनौँ स्यालोट्युब वेल निर्माण भएका छन् । शनिश्चरे बजारको मध्यभाग भएर बग्ने पैनी तथा पाङ्गे पैनी, डाँडा गाउँ पश्चिम हात्तीकिल्ला खोल्सीको मुहान मर्मत भएको छ ।
स्वास्थ्य
नगरका सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना, भवन निर्माण र कर्मचारी व्यवस्थापन भएको छ । कतिपय वडामा बाह्य खोपकेन्द्र भवन निर्माण भएका छन् । कतिपय वडामा सयौँको संख्यामा विपन्न परिवारको निशुल्क विमा गरिएको छ ।
अर्जुनधारामा आयुर्वेदिक शाखा स्थापना भएको छ । सो अन्तर्गत पञ्चकर्म (पूर्वकर्म) भवन निर्माण, औषधालय भवन जीर्णोद्वार (शौचालय ग्राउण्ड, रंगरोगन आदि) र कम्प्युटर, ल्यापटप, प्रिन्टर, इन्टरनेट, पावर ब्याकआप आदि खरिद तथा जडान भएको छ । त्यहाँ आवश्यक फर्निचर खरिद गरिएको छ ।
गत पाँच बर्षको अवधिमा आयुर्वेदिक शाखाबाट २६ हजार ६७५ जनाले ओपीडी सेवा, १ हजार ४७५सर्वाङ्ग स्नेहन, स्वेदन सेवा, १ हजार ९४५ ले एकाङ्ग स्नेहन ,स्वेदन सेवा, २९४ जनाले वस्तिकर्म र १५६ जनाले नस्यकर्म सेवा लिएका छन् ।
शनिश्चरे अस्पतालको भवन निर्माणको काम भएको छ भने नगर अस्पताल भवन निर्माणको प्रक्रियामा रहेको छ ।
बिरामीहरुको चापलाई मध्यनजर गरी तीनवटा एम्बुलेन्स सञ्चालन गरिएको छ । उपमेयरसँग आमाशिशु कार्यक्रम सञ्चालन गरी स्वास्थ्यकर्मीहरुद्वारा सुत्केरीहरुको ३ र ७ दिनमा घरैमा गएर स्वास्थ्य परीक्षण सेवा साथै मायाको कोसेली वितरण शुरु गरिएको छ ।
कोरोना महामारीको समयमा निशुल्क एम्बुलेन्स सञ्चालन, औषधी तथा खाद्यान्न वितरण गरिएको छ । कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिको परिवारलाई २५ हजार रुपैँयाका दरले आर्थिक सहायता प्रदान गरिएको छ ।
शिक्षा
वडा नम्बर २ मा रहेको बालविकास केन्द्रमा १ जना शिक्षकको दरबन्दी व्यवस्थापन गरिएको छ । त्यस्तै नवज्योती प्रावि लाई १ जना बाल शिक्षा दरबन्दी उपलब्ध गराइएको छ । वडा नम्बर ३ को भानु आवि मा २ कोठे र भवन तथा कम्प्युटर ल्याव निर्माण र अन्य भौतिक संरचना निर्माण जनता मावि मा ५ वटा भवन, सभाहल र प्रयोगशाला निर्माण भएको छ ।
वडा नम्बर ४ को अर्जुनधारा मावि र नवदुर्गा आधारभूत विद्यालयमा मा ४ कोठे भवन निर्माण गरिएको छ ।
वडा नम्बर ५ को भानु माविमा प्राविधिक शिक्षाको लागि ३६ लाख रुपैँयाकोे प्राविधिक सामाग्री वितरण, पूर्वाधार विकासमा ९ लाख रुपैँया खर्च भएको छ । त्यस्तै ६ कोठे २ वटा भवन निर्माण भएको छ ।
त्यस्तै श्री समाजसेवी प्राविमा ३ कोेठे भवन निर्माण भएको छ भने श्री कञ्चन आधारभुत विद्यालयमा शौचालय निर्माण भएको छ । समाजसेवी प्राविलाई नमुना विद्यालयको पूर्वाधार निमार्ण शिक्षण विद्यार्थी तालिम अन्तर्गत शिक्षण सामग्रीको व्यवस्था गरिएको छ ।
श्री नवज्योती प्रा.वि.मा ३ कोेठे भवन निर्माण हुनुका साथै बालभवन निर्माण भएको छ ।
वडा नम्बर ६ को लक्ष्मी मावि कक्षा कोठा निर्माण, शैक्षिक सामाग्री खरीद, सोलर जडान र २ कोठे भवनसमेत निर्माण भएको छ । बालकल्याण आवि घेरावारीमा शैक्षिक सुधार र स्टोर निर्माण भएको छ ।
शनिश्चरे उच्च माविको भौतिक पूर्वाधार निर्माण भएको छ । शनिश्चरे बहुमुखी क्याम्पसको फर्निचर व्यवस्थापन गरिएको छ ।
वडा नम्बर ९ को श्री प्रावि विद्यालय र कालीस्थान माविको चार कोठे दुई तले भवन निर्माण भएको छ ।
वडा नम्बर १० को सिंहवाहिनी प्राविमा २ वटा ३÷३ कोठे भवन र २ सय मिटर वाल कम्पाउण्ड गरिएको छ भने फर्निचर मर्मतको काम समेत भएको छ । विद्यार्थीलाई पोषण कार्यक्रमसमेत सञ्चालन भएको छ ।
युवा तथा खेलकुद
युवा लक्षित कार्यक्रम अन्तर्गत २५ जना यूवालाई पत्रकारिता तालिम, २३ जनालाई इलेक्ट्रिसियन तालिम, यूवा स्वरोजगार कार्यक्रम अन्तर्गत ४३ वटा बाख्रा वितरण, १० जनालाई च्याउ खेती प्रोत्साहन तालिम र २५ जनालाई उद्घोषण तालिम दिइएको छ । एडभान्स तथा आधारभूत सिलाई–कटाई तालिम सञ्चालन भएको छ भने सेनेटरी प्याड बनाउने तालिमसमेत सञ्चालन भएको छ । महिलाहरुका लागि मोति माला निर्माण, झोला बनाउने, ढाका बुनाईआदि तालिम सञ्चालन गरिएको छ ।
विभिन्न विद्यालयमा फुटवल, क्रिकेट तथा भलिवल लगायत खेल सामाग्री उपलब्ध गराइएको छ । अर्जुनधारा खेलमैदान स्तरोन्नति तथा घेराबारा गरिएको छ भने शनिश्चरे भलिवल क्लबलाई खेलसामग्री वितरण गरिएको छ ।
नदि नियन्त्रण
विरिङ, नेते, टाङटिङ, दहिझोडाआदि खोलामा सयौ मिटर तटबन्धन निर्माण भएको छ । कतिपय स्थानमा बाँध बाँधिएको छ भने कतिपय स्थानमा तारजाली लगाइएको छ । त्यस्तै साहसी बस्तीमा समेत बाँध बाँधिएको छ । शनिश्चरे बहुमुखी क्याम्पस पूर्व बाह्रदशी खोलामा नदि नियन्त्रणको काम भएको छ ।
मठमन्दिर
प्रणामी मन्दिर गेट निर्माण र कुर्सी खरिद, हरि धर्म मन्दिर, भुटनसरी मन्दिरलाई सहयोग, सत्यधाम फर्निचर खरिद गरेको छ । कालीस्थान गुम्बामा शौचालय निर्माणको काम भएको छ । भागवत भक्ति आश्रमलाई सहयोग प्रदान गरेको छ । अर्जुनधारा जलेश्वर धाम घेराबारा तथा सिंहदेवी मन्दिरको अधुरो शौचालय मर्मतको काम भएको छ भने विभिन्न मठमन्दिरलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
सूचना प्रविधि
प्रत्येक वडा कार्यालयमा फाईवर वेस्ट ईन्ट्रानेट (प्राईवेट नेटवर्क) को पहँुच पर्ुयाइ सहज इन्टरनेटको व्यवस्था गरिएको छ । सवै वडामा व्यक्तिगत घटना दर्तालाई अनलाइन माध्यमवाट व्यवस्थापन गर्न पूर्वाधारको व्यवस्था गरिएको छ । नगरपालिकाको तथ्याङ्क व्यवस्थापनको लागि आफ्नै सर्भर व्यवस्थापन गरी सञ्चालन गरेको छ । सम्पति कर, भूमिकर, मालपोत कर र नगदी कर, व्यवसाय दर्ता, वहाल कर लगायतको आन्तरिक आय संकलनको लागि सफ्टवेयर सञ्चालन तथा सहायता प्रदान गरेको छ ।
जिन्सी व्यवस्थापन, योजना व्यवस्थापन, दर्ता चलानी, अ-पाङ्गता परिचयपत्र आदि कार्यको लागि सफ्टवेयर सञ्चालन तथा सहायता प्रदान गरेकोछ ।
नगर कार्यपालिकाको कार्यालय, सवै वडा कार्यालय, नगरपालिका क्षेत्रका सबै सामुदायिक विद्यालय र सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा इ-हाजिरी जडान गरी सञ्चालनमा रहेको र सुचना प्रविधि विभागवाट संचालित हाजिरी प्रणालीमा व्यवस्थापन गरिएको छ ।
नगरपलिका कार्यालय र केही वडा कार्यालयहरुमा डिजिटल स्क्रोलिङ्ग बोर्ड स्थापना गरी सुचना सम्प्रेषण गर्ने व्यवस्था गरिएको छ ।
बजार तथा भिडभाड हुने विभिन्न क्षेत्र (शनिश्चरे वजार, शहिद स्मृति पार्क सालवारी, टेकबहादुर गिरी बसपार्क र वडा नं. ६ का सडकहरुमा सि.सि क्यामेरा जडान गरी प्रहरी चौकि शनिश्चरेबाट निरन्तर अनुगमन गर्ने व्यवस्था मिलाइएकोछ ।
एसआइपी पीवीएक्स प्रणाली जडान गरी नगरपालिकाको विभिन्न शाखा तथा वडाहरुमा शुल्क रहित एकिकृत सञ्चार प्रणाली लागू गरिएको छ ।
कार्यालयको वेवसाइट, सामाजिक सञ्जाल (फेसवुक, टविटर पेज) नियमित रुपमा अपडेट गर्ने गरेकोछ । नगरपालिकाको मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याई व्यवस्थापनको भूमिका निर्वाह गरेकोछ । सुशाासन सेवा प्रवद्र्धनको लागि डिजिटल नागरिक बडापत्रको अभ्यास सुरु गरिएकोछ ।
२०७४ यता विभिन्न ८ वटा ऐन, ३ वटा नियमावली र १५ वटा निर्देशिका निर्माण गरी पालिकाको नियमित काम सञ्चालन भएको छ ।