बाल आश्रममा मनाए दुलालले जन्मदिन
बिर्तामोड । झापा बिर्तामोड–४ स्थित तारा नमस्ते बालग्राममा बिर्तामोडका एक युवाले आफ्नो जन्मदिन मनाएका छन् । स्थानीय युवा समाजसेवी तथा व्यवसायी बासु दुलालले आफनो ४४औँ जन्मदिन बालआश्रममा मनाएका हुन ।
शनिबार विहान आफ्ना परिवारका सदस्य तथा छरछिमेकीसमेतको उपस्थितीमा दुलालले जन्मदिनको केक काट्नुका साथै बालग्राममा फलफुल तथा खाद्यान्न वितरण गरेका थिए ।
एक दशकदेखि सामुहिक रुपमा जन्मदिन मनाउँदै आएका दुलालले विगतको बर्ष कोभिडका कारण मनाउन नसकेको बताए । दुलालले आफ्नै गाउँमा पवित्र भावनाका साथ स्थापित बालग्रामलाई प्रत्येक बर्ष जन्मदिनमा गरिने फजुल खर्च कटाएर सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।
बालग्रामका संस्थापक अध्यक्ष नारायणप्रसाद पोखरेलले दाताहरुको सहयोगबाट नै बालग्राम सञ्चालन गरिरहेको बताउँदै दुलाललाई जन्मदिनको शुभकामना सहित धन्यवाद दिए । उनले दुलाल दम्पतिलाई खदा लगाएर सम्मान समेत गरे ।
२०६९ सालमा स्थापना भएको बालग्रामलाई स्थानीय समाजसेवी गुरुप्रसाद ओझाले १ कठ्ठा र शिक्षासेवी गुरुभक्त न्यौपानले ५ धुर जग्गा दान दिएको अध्यक्ष पोखरेलले बताए । हाल सोहि जग्गामा स्थानीय तह तथा विभिन्न दाताको सहयोगमा तीन तले व्यवस्थित भवन निर्माण भएको छ । बालग्राममा १० जना महिला र ११ जना पुरुष आश्रित रहेको पोखरेलले बताए । तीन जना साना बालबालिका बाहेक अन्य सबै विद्यालयमा अध्ययनरत रहेको उनको भनाई छ । पोखरेलका अनुसार ती बालबालिकाहरुलाई विद्यालयहरुले निशुल्क पढाइदिएको छ । बालग्राममा स्नातक तहसम्म अध्ययन गर्दै गरेकाहरु आश्रित छन् ।
कार्यक्रममा इन्द्रेणी महिला समूहकी अध्यक्ष इन्दु कट्टेल, नवदुर्गा किर्तन मण्डलीका अध्यक्ष श्यामलाल अधिकारी, समाजसेवीहरु जेवी जबेगु, गोपी अधिकारीलगायत स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।