आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरेर मनाइँदै
बिर्तामोड । आज कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधिनी एकादशी । यसलाई ठुली एकादशी पनि भन्ने गरिन्छ । आजको दिन सनातन हिन्दु धर्मावलम्बीहरुले तुलसीको विवाह गर्ने गर्दछन् ।
हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । यसको महिमाका कारण पनि यसलाई ठुलो एकादशी भनिएको हो ।
आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ । वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्त्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, सांस्कृतिक र वैज्ञानिक रूपमा पनि निकै महत्त्व रहेको छ । हिन्दु धर्मालम्बीहरुले आआफ्नो घरमा तुलसीको मठ बनाउने र त्यसलाई पूजा गर्ने गर्छन् ।
हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने एकादशीमा रोपिएको तुलसीको बिरुवा आजको दिनसम्म निकै हुर्किएको हुन्छ । आषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीको बिरुवालाई आजको दिन पिपलसँग विवाह गरिदिने प्रचलन पनि रहेको छ । यसका लागि तुलसीको मठको चारैतर्फ बाँसको लिङ्गो गाड्ने अनि रंगरोगन गरेर शृङ्गार गर्ने चलन रहेको छ । आजको दिन हिन्दु धर्मालम्बीहरुले रुद्री पूजा गर्ने चलन पनि रहेको छ ।
वैदिक सनातनमा तुलसीको महत्व प्रत्येक विशेष उत्सव वा कुनै धार्मिक कार्यमा पनि रहँदै आएको छ । मानिसको जन्म हुँदा होस् वा मृत्यु हुँदा सनातनी संस्कारमा तुलसीको बिरुवा वा तुलसीको पातको प्रयोग हुँदै आएको छ । हिन्दु धर्मालम्बीहरुले आँगनको छेउमा बनाएको तुलसीको मठलाई पवित्र स्थान मानिने चलन छ । तुलसीको पातको पनि विशेष महत्त्व रहेको छ । अनि तुलसीको डाँठबाट बन्ने मालालाई त निकै पवित्र मानिन्छ ।
भगवान विष्णु उठ्ने जनविश्वास

जनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको दिन भगवान् विष्णु उठ्नुहुन्छ भन्ने छ । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका विष्णु भगवान् आज उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ ।
भगवान् विष्णुका अनेक नाममध्ये एक नाम हो, नारायण । आज काठमाण्डौको पश्चिममा इचङ्गुनारायण, पूर्वमा चाँगुनारायण, उत्तरमा विशंखुनारायण रअनि दक्षिणमा शेषनारायणको विशेष पूजा गर्ने गरिन्छ । श्रद्धासहित भक्तजनहरू यी ठाउँमा पुग्ने गर्छन् । बिहानैदेखि भगवान् विष्णुको प्रतिमा भएका ठाउँमा पुगेका श्रद्धालुहरूले साँझ अबेरसम्म पूजापाठ गर्ने चलन रहेको छ । पहिले पहिले त यी चारै नारायण भएको ठाउँमा भक्तालुहरू हिँडेर एकै दिनमा पुग्ने गरेको चर्चा पनि सुनिन्छ ।
आजको दिन नेपालभरका विभिन्न भगवान् विष्णुका मन्दिर तथा तीर्थस्थलमा तीर्थाटन गर्ने भक्तजनहरूको व्यापक भीड लाग्ने गर्छ ।
आजको दिन भगवान् विष्णुको भजनकिर्तन गर्दै रातभर जाग्राम बस्ने चलन पनि छ । यसरी गरिएको पूजा एवं आराधनाबाट हामीलाई सुख, समृद्धि र सबै प्रकारको मनोकामना प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।