आजबाट विधिवत छठ पर्व शुरु
बिर्तामोड । नेपालीहरुको दोस्रो महान चाड तिहार सकिएसँगै हर्षोल्लासका साथ मनाइने छठपर्वको आजबाट विधिवत शुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधि सम्पन्न गर्ने गरिन्छ ।
झापाको मेची र बिरिङ किनारमा भव्य रुपमा छठ पूजा गरिँदै आएको छ । सयौँ स्टलहरु राख्ने गरी पूजाको तयारी भइरहेको छठ पूजा सेवा समिति बिर्तामोडका शत्रुघन रौनियारले बताए ।
श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठपर्वका अवसरमा तराईका नदी किनार, पोखरी तथा तलाउ अहिले दुलहीझैँ सिङ्गारिएका छन । खासगरी जलाशयमा बनाइएका घाट अत्यन्त मनमोहक देखिएका छन । ब्रतालुले सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व विधिवतरूपमा समापन हुनेछ । व्रत समापन गरिने बिहानको यो विधिलाई ‘भोरका अरख’ भनिन्छ ।
यतिबेला तराईको बजारमा छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको निकै भीडभाड देखिएको छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन । यो समय माटो तथा बाँसका सामग्री खरिद समेत गरिन्छ ।
छठ पूजाका लागि व्रतालुहरू राती पूजा स्थानमै बस्छन भने ग्रामीण क्षेत्रमा अधिकांश व्रतालु साँझ घर फर्कछन र भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अर्घ दिने गरिन्छ । यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ ।
विगतमा विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको साझा पर्वको रुपमा नेपालभर विस्तार भएको छ ।