२०८३ बैशाख १८ गते , शुक्रबार

भारतीयले गरेको बिष्फोटबाट ढुङ्गा उछिट्टिएर नेपाली बालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक ११ गते , शुक्रबार
भारतीयले गरेको बिष्फोटबाट ढुङ्गा उछिट्टिएर नेपाली बालकको मृत्यु

दार्चुला । ब्यास गाउँपालिका-२ तम्बाकुस्थित भारतमा विष्फोट गरिएको ढुंगा उछिट्टिएर बाटोमा हिँडिरहेका एक बालकको मृत्यु भएको छ । शुक्रबार बिहान तम्बाकुबाट घर फर्किने क्रममा बाटोमा हिँडिरहेको अवस्थामा सीमा पारिबाट उछिट्टिएर आएको ढुंगा लागेर ब्यास गाउँपालिका–२ का हिक्मत महराका ९ वर्षीय छोरा पवन महराको मृत्यु भएको वडाध्यक्ष धिरनसिंह बुढाथोकीले बताए ।
वडाध्यक्ष बुढाथोकीका अनुसार बिहान साढे ९ बजेतिर ब्यास गाउँपालिका-२ स्थित तम्बाकु नजिकको थि भन्ने ठाउँबाट दुम्लिङ्तर्फ आफ्ना बुवा र बहिनीसँगै आइरहेका पवनको सीमा पारि भारतबाट आएको ढुंगा लागेको थियो।
भारत पिथौरागढ जिल्लाको धारचुला अन्तर्गत तवाघाट-लिपुलेक सडक खण्डको लखिमपुरको चट्टानी भू-भागमा सडक निर्माण गरिरहेको गर्ग एण्ड गर्ग निर्माण कम्पनीले सीमा क्षेत्रमा कुनै पूर्व सूचना नदिई विष्फोट गराउँदा घटना भएको उनले बताए ।
उनका अनुसार पवनसँगै हिँडिरहेकी हिक्मतकी छोरी पारिबाट उछिट्टिएर आएको ढुंगा लागेर घाइते भएकी छन् । दुम्लिङ्देखि माथिल्लो क्षेत्रमा भारतीय पक्ष नेपालतर्फको सीमा क्षेत्रमा व्यापक नोक्सान हुने गरी सीमा पारि सडक निर्माण गरिरहेको छ ।
वडाध्यक्ष बुढाथोकीका अनुसार यसअघि भारतीय क्षेत्रमा विष्फोट गराउनु पर्दा सिठ्ठी लगाएर सूचना दिँदै पड्काउने गरेका थिए । शुक्रबार भने सिठ्ठी नबजाइकन विष्फोट गराउँदा क्षति भएको बुढाथोकीले बताए । अहिले घटनास्थलमा दुम्लिङ्बाट नेपाल प्रहरी र सशस्त्र प्रहरी गएका छन् । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार