सादगी नेताको परिचय बोकेका हरिकुमार राना
राज्य पुनःसंरचना पश्चात मुलुकमा ७ सय ५३ स्थानीय सरकार गठन भयो । गाउँगाउँमा सिंहदरबार भन्ने भनाई साकार पार्न स्थानीय सरकार प्रमुखहरु लागि परे । स्थानीय सरकारबाट प्रवाह हुने सेवालाई मात्र बढाएनन् कतिपयले सुविधालाई समेत बढाए । आममानिससँग सरोकार राख्ने दमकल किनेनन् तर आफू चढ्ने लाखौँको गाडी किन्न छुटाएनन् । त्यहि गाडीको निहुँमा पालिका प्रमुख र उपप्रमुखबिच कटाक्ष परेको समाचारहरु बाहिरियो । स्थानीय सरकार प्रमुखहरु विलासी बनेका गुनासाहरु पनि आउने गरेका छन् । अधिकांशले सुनेको र देखेको पनि प्रायः यस्तै हो तर, कतिपय स्थानीय सरकारका प्रमुखहरु विलासी गाडीको सट्टा हिड्न मन पराउँछन्, विलासिताको सट्टा अभावमै रमाइरहेको पनि पाइन्छ । त्यसै मध्येका एक हुन झापा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना ।

रानालाई सादगी नेताको रुपमा लिँदा अत्युक्ति नहोला । सरल जीवन, स्पष्टवक्ता, दुरगामी सोँच नै रानाको परिचय हो । विहान ८ बजेदेखि राती ८ बजेसम्म रानालाई कार्यालयमा भेटिँदा अन्यथा नमाने हुन्छ । पालिकामा रहेको गाडी भन्दा मोटरसाइकलको पछाडि बसेर राना पालिका क्षेत्रभित्र घुमेको देख्नेहरु बेलाबेला अचम्म मान्छन् । घर र पालिका आउजाउमा समेत राना विरलै मात्र पालिकाको गाडी प्रयोग गर्छन । हिड्न मन पराउने राना अतिआवश्यक काम बाहेक गाडीमा कमै मात्र चढ्ने गरेका छन् । साधारण जीवन शैली अपनाउनु उनको राजनीतिक आदर्श नै हो । धेरैको प्रेरणाका स्रोत र आदर्श पात्र बनेका उनै रानाको विगतदेखि आजसम्मलाई छोटो शब्दचित्रमार्फत प्रस्तुत गरिएको छ ।
राना झापाको शनिश्चरे ६ मा विसं. २०१५ साल साउन २५ गते जन्मिएका हुन । सालबारीस्थित महारानीगञ्ज स्कुलबाट कखरा सिकेका रानाले माध्यमिक शिक्षा शनिश्चरे माध्यमिक विद्यालयबाट हासिल गरेका हुन । उनले मेची बहुमुखी क्याम्पस भद्रपुरबाट आइएसम्मको अध्ययन पूरा गरेका छन् । सानैदेखि राजनीतिप्रति लगाव राख्ने राना २०३७ सालबाट विद्यार्थी राजनीतिमा होमिए । २०३९÷०४० सालमा नेकपा मालेले गठन गरेको तीन सदस्यीय एजीमा उनी सेक्रेटरी भए । अन्य सदस्यहरु विर्ख प्रधान र डम्बर बस्नेत रहेको राना बताउँछन् । राजनीतिको शुरुवातदेखि नै राना नेतृत्व तहमा रहेर सक्रिय बने । ०४१÷०४२ मा पीएजी गठन भएपश्चात बनेको पाँच सदस्यीय कमिटिमा ठूलो दुर्गा अधिकारी, स्वर्गीय यादव सुवेदी, डम्बर बस्नेत, बिर्ख प्रधान र राना थिए । त्यस पीएजीको पनि उनी सेक्रेटरी भएर काम गरेको अनुभव सुनाउँछन् । २०४३ सालमा प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्चको सदस्य बनाएर पार्टीले उनलाई मोर्चामा पठाएको थियो । २०४४ सालमा शनिश्चरे वडा नम्बर ६ को वडाध्यक्ष पदमा चुनाव लडेपनि रानाले हार व्यहोर्नु परेको बताउँछन् ।

प्रजातन्त्र आगमनपश्चात २०४८ सालमा राना नेकपा एमालेको जिल्ला कमिटि सदस्य बने । त्यसअघि उनी वडा सचिव भएर काम गरिरहेका थिए । उनी जिल्ला कमिटि सदस्य बनेपछि बिर्ख प्रधानलाई वडा सचिवको जिम्मेवारी दिइएको थियो । राना त्यसबेला पार्टीमा मान्छे नभएका कारण वडा नम्बर १ र २ मा कृष्ण पौडेल र कमल गुरागाईँलाई पार्टीले राखेको विगत सम्झन्छन् ।
२०४९ सालमा शनिश्चरेमा पार्टीले ११ सिटमध्ये अध्यक्ष र उपाध्यक्षसहित ३ सिट जितेको थियो । उनले गाविस अध्यक्षमा लिलक सिटौलालाई ५० मतले पराजित गरे । त्यसबेला १ सय ५० रुपैँया चुनाव खर्च भएको राना स्मरण गर्छन । फेरी २०५४ सालमा गाविस अध्यक्षका प्रतिद्वन्दी उनै लिलक सिटौलाई १ हजार ८ सय १८ मतको फराकिलो अन्तरले रानाले पराजित गरेका थिए । त्यसबेला भने रानाको चुनाव खर्च बढेर ७ सय रुपैँया पुगेको थियो । रानाले पुनः ०५४ देखि ०५९ सम्म गाविस अध्यक्षको जिम्मेवारी निर्वाह गरे । यसरी उनी लगातार एक दशकसम्म शनिश्चरे गाविस अध्यक्ष भएर काम गरे । ०५४ मा शनिश्चरेको ६ वटा वडा जितेर पार्टीले लालकिल्ला कायम गरेको राना बताउँछन् । २०५४ सालमा एमाले विभाजन भयो । पार्टीले उनलाई मालेमा लागेको आरोप लगायो, उनी माले तिर लागे ।
२०५९ मा गाविस अध्यक्षको दोस्रो कार्यकाल सकेर करिब ५ बर्ष रानाले राजनीतिक जीवनबाट बिश्राम लिए । राना पुनः २०६४ पछि सक्रिय राजनीतिमा फर्किए । ०६६–०६८ सम्म नेकपा एमालेको क्षेत्र नम्बर ४ को अध्यक्षको जिम्मेवारी सम्हाले । मुलुक संघीयतामा गएपश्चात अर्जुनधारा, शनिश्चरे र खुदुनाबारी गाविस मिलेर अर्जुनधारा नगरपालिका बन्यो । र, उनी नेकपा एमालेको तर्फबाट अर्जुनधारा नगरपालिकाको प्रमुखमा निर्वाचित भए । ०४९ देखि ०७४ मा आइपुग्दा उनको मतान्तर फराकिलो बन्दै गयो । ०७४ को चुनावमा उनले ४२ सय बढी मतान्तरले विजयी बने । उनले हेमराज खरेललाई पराजित गरेका थिए ।
राना नगरप्रमुखको जिम्मेवारीको उत्तरार्धमा छन् । नगरप्रमुख भएर आएपछि सबै नागरिकलाई समान व्यवहार गरेको, राजनीतिक आँखाले कसैलाई नहेरेको बताउँछन् । कोरोनाको पहिलो लहर जतिबेला डाक्टरहरुसमेत संक्रमितको छेउमा जान डराउँथे त्यतिबेला रानाले आफू चढ्ने गाडी अर्जुनधाराबासीलाई आइसोलेसन सेन्टरसम्म पुर्याउन प्रयोग गरेका थिए । बिरामीको उपचारमा विशेष ध्यान दिइएको थियो । मेयर कतिपय बिरामीको घरसम्मै औषधी पुर्याउन जाने गरेका थिए ।

अर्जुनधाराले संयुक्त राज्य बेलायतको लण्डनस्थित विल्भरह्याम्प्टन सिटी काउन्सिलसँग भगिनी सम्बन्ध स्थापित गर्यो । दुवै पक्षको सामाजिक, साँस्कृतिक, शैक्षिक र पर्यटकीय हित प्रवर्धनका लागि सम्झौता गरिएको थियो ।
राना अर्जुनधारा नगरपालिका बन्नुअघिका तीन वटा गाविसमा एउटा एउटा ठूला योजना विकास गर्ने लक्ष्यमा छन् । अर्जुनधारा जहाँ पूर्वकै पशुपतिनाथको रुपमा रहेको जलेश्वरलाई विकास गर्ने सोँचका साथ काम भइरहेको छ । धार्मिक पर्यटन विकास गरी अर्जुनधारालाई नेपाल तथा भारतमा चिनाउन र अर्जुनधाराबासीको चौतर्फी विकासका लागि यो योजनाले सहयोग पुग्ने उनको विश्वास छ ।
त्यस्तै, साविक खुदुनाबारीको साठीमुरेमा बुद्ध सामुदायिक भवनका लागि डीपीआर तयार भइरहेको छ भने सहकालेमा सूर्योदय, रोङ, माइ र अर्जुनधाराको संगमको रुपमा रहेको झरनाको प्रवर्धनका लागि काम भइरहेकोछ । यता, शनिश्चरेको कालिस्थानमा रहेको जेठा गुम्बा जिर्णोद्वारको काम समेत भइरहेको छ । खुदुनाबारीमा ६ विगाह क्षेत्रमा औद्योगिक ग्राम निर्माणका लागि काम भइरहेको छ ।
स्थानीय सरकारको पहिलो जनप्रतिनीधि भएका कारण शुरुका बर्ष सिकाईसँगै कानूनी जटिलका कारण काम गर्न नसकिएको उनी बताउँछन् । दोस्रो बर्षदेखि तीब्र गतिमा काम भएपनि अर्जुनधाराको समग्र विकासका लागि आफ्ना योजना अनुसारका सबै काम गर्न नसकिएको राना बताउँछन् । अर्जुनधाराबासीको साथ र सहयोगले यतिका काम गर्न सकिएको भन्दै सबै नगरबासीप्रति नगरप्रमुख राना कृतज्ञता व्यक्त गर्छन ।