नयाँ दिल्ली–लण्डन बस सेवा सञ्चालन हुने
एजेन्सी । भारतीय ट्राभल कम्पनी एड्भेन्चर ओभरल्यान्डले २० हजार किलोमिटर लामो बस यात्रा सञ्चालन गर्दैछ ।
कम्पनीले भारतको दिल्लीदेखि बेलायतको लण्डनसम्म चल्ने बस सञ्चालन गर्ने भएको हो ।
विभिन्न रिपोर्टहरू अनुसार दिल्लीदेखि लन्डनसम्मको बस यात्रा ७० दिनको हुनेछ । यो बस म्यानमार, थाइल्याण्ड, लाओस, चीन, किर्गिस्तान, उज्बेकिस्तान, काजाकिस्तान, रुस, लाटभिया, लिथुआनिया, पोल्यान्ड, चेक रिपब्लिक, जर्मनी, नेदरल्यान्ड्स, बेल्जियम र फ्रान्स हुँदै बेलायत पुग्दा १८ देशको सडकमा गुड्नेछ ।
दिल्लीदेखि लण्डनसम्म चल्ने बसको अवधारणा एड्भेन्चर ओवरल्यान्डका सह–सञ्चालक सञ्जय मदन र तुसार अग्रवालले ल्याएका हुन् ।
उनीहरूले सन् १९५० देखि १९७० को दशकमा युरोप र एसियाको रूटमा चल्ने ‘म्याजिक बस’ बाट प्रभावित भएर दिल्लीदेखि लण्डनसम्म बस यात्रा सञ्चालन गर्न लागेको लोन्ली प्लानेट रिपोर्टले जनाएको छ ।
सन् १९५० देखि १९७० दशकमा कलकत्तादेखि लण्डनमा बस चल्थ्यो। यो यात्रा ४५ दिनको थियो । तर बस दुर्घटनामा परेपछि उक्त सेवा बन्द गरियो ।
एड्भेन्चर ओभरल्यान्डले सञ्चालन गरेको संसारको सबैभन्दा लामो यो बस यात्रा सन् २०२२ को सेप्टेम्बरदेखि सुरू हुने बताइएको छ । दिल्लीबाट लण्डनसम्म चल्ने बसमा जम्मा २० जना यात्रु राखिनेछ । उनीहरूलाई यात्राक्रममा विभिन्न देशका प्रख्यात ठाउँहरूमा घुमाइनेछ ।
यात्राका लागि तयार पारिएको यो बसमा वाईफाई, बिजनेस क्लास सिटहरू, युएसबी पोर्ट, विद्युतीय प्लगहरूलगायत विशेषताहरू समावेश गरिएको छ ।
यसमा यात्रुको गोपनीयताका लागि सिटहरू बीच विभाजनहरू समेत गरिएको छ । त्यस्तै, बसमा पेय पदार्थ र खाजाका लागि कुलरसहितको मिनी प्यान्ट्री पनि पाउन सकिन्छ ।
यात्रालाई आवश्यक सामग्री राखेर प्रत्येक यात्रुले दुई वटासम्म ठूलो सुटकेस लग्न सक्नेछन्। सामग्री सुरक्षाको लागि बसमा निजी लकर पनि दिइनेछ ।
प्रत्येक व्यक्तिले यो बस यात्राको लागि भारू १५ लाख अर्थात् नेपाली करिब २४ लाख रूपैयाँ भाडा तिर्नुपर्ने हुन्छ । यसैमा गाडीको टिकट, भिसा, बस्नेखानेको सुविधालगायत सेवाहरू समावेश गरिएको छ ।